जुम्ला : जुम्लाको हिमा गाउँपालिका भित्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । विद्यालय भदौ १५ गतेबाट सञ्चालनमा आएका थिए । गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ । हिमा गाउँपालिकामा जोखिम घटेपछि कार्यपालिको वैठकको निर्णय अनुसार विद्यालमा स्वास्थ्य मापदण्डसहित विद्यालय खुलाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको बिषयमा आयोजना गरिएको वैठकमा विद्यालय सुचारु गरिएको धितालले बताए । स्थानीय तहको निर्णय अनुसार यहि भदौ १५ गतेवाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुलाइएको कालिका माध्यामिक विद्यालयका शिक्षक खम्वा शाहीले बताए ।
यस्तै जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीबीचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयमा छलफल समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय दिइएको बताइन् ।
उनका अनुसार यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरेपनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्य योजनासहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो । बैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परेका कारण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउनु पर्ने जोड दिएका हुन् ।
उनीहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा गइरहेका छन् । त्यो भन्दा विद्यालयमा सुरक्षित तरिकाले विद्यालय आउनु पर्ने वातावररण मिलाउन जरुरी देखिएको बताएका हुन । सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधि २०७८ समेत बनाएको छ । स्वास्थ्य मापदण्ड गरेर हरेक साता कोरोना परिक्षण गर्ने, एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दामुनी पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजिव शाहले बताए ।
उनका अनुसार त्यो कार्यविधिका बिषयमा स्थानीय तहमा छलफल बहस र सचेतना आवश्यक रहेको छ । शिक्षा समन्वय इकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्रायः शिक्षकहरुले खोप लगाइ सकेका छन् । बाँकीलाई अनिवार्य खोप लगाउन अनुरोध समेत गरेका छन् । यसै गरी यसैगरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतले बताए ।