जुम्ला : नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएसँगै जिल्ला सभापतिमा भने नेता कार्यकर्ताको रस्साकस्सी हुने देखिएको छ ।
सभापतिमा वर्तमान सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ ।
जिल्ला अधिवेशन नजिक आएसँगै जिल्ला सभापतिको लागि आधा दर्जन आकांक्षी नेताहरुको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ गरिरहेको पाइन्छ ।
१४ औँ अधिवेशनमा वर्तमान सभापति शाहीले दोहोरिने इच्छा देखाएका छन् । पौडेल पक्षले शाहीलाई एकल उम्मेद्धारको रुपमा उभ्याएको छ । उनी पौडेल पक्षबाट एकल उम्मेद्धार मानिएका छन् ।यता पार्टी सभापति देउवा प्यानलबाट पाँचजना आकांक्षी देखिएका छन् । सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंकबहादुर शाही र कान्तिका सेजुवाल आकांक्षी देखिएका हुन् ।
आकांक्षी धेरै देखिए पनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने बढी सम्भावना देखिएको छ । अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ ।
जुम्लामै रहने नेता कार्यकर्ताले काठमाडौँमै बसेर नेताको वरिपरी घुमेर पर्यटक नेताका रुपमा अधिवेशनमा नेतृत्व दाबी गर्न आएकोले यो निरन्तर पार्टीको काममा लागेका नेता कार्यकर्तालाई निरुत्साहित बनाउने कार्य भएको बताउँदै आएका छन् ।
यहाँ दिनरात पार्टी भनेर काम गरिरहने कार्यकर्ता मर्कामा पर्ने पौडेल पक्षधर बताउँछन् । जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् ।कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुबै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोल्न थालेका छन् ।
यी दुबै आकांक्षी उस्तै हुन् । तर तुलनात्मक रुपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकोले कार्यकर्ताले बढी मान्ने गरेका कार्यकर्ताले बताउदै आएका छन् ।
तत्कालिन कांग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यबाहक सभापतिको रुपमा पार्टी चलाउँदै आएका थिए । यो दुई कार्यकाल बितिसकेकोले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ताको धारणा छ ।
सिंजा गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता देवलसिंह रावल कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमि नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँछन् । उनले भने, ‘सभापतिको लागि जिल्लामा दुई खेमा देखिन्छ । पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाक्ने नेतृत्व चयन हुनुपर्छ । सबैको साँझा नेतृत्व अहिलेको अपरिहार्यता हो ।’
त्यस्तै दीपबहादुर शाही जुम्लामै बसे पनि राम्रो काम हुन सकेनन् । उनी कार्यकर्ताको मनमुटुमा बस्न नसकेको आरोप छ । सचिव शाही काठमाडौँ बसेपछि जिल्लामा लगाब देखिएन । यो कार्यकाल उनी कार्यकर्ता बीचमा रहेनन् । कार्यकर्ता माझ नहुँने नेताले पार्टीको हित र प्रगति गर्न सकिँदैन भन्ने एक थरीको बुझाइ छ ।
वडा अधिवेशन सकिदै गरेको अवस्थामा छ । अब दुई वडामात्रै बाँकी छन । वडामा पनि आफ्नो अनुकुलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ । सभापति दीपबहादुर शाहीले भने, ‘ यो पटक पनि म सभापतिको आकांक्षी हो । कार्यकालमा बाँकी रहेका अधुरा काम पूरा गर्नुछ ।’
जुम्लामा कांग्रेसभित्र दुई गुट छ । देउवा गुटभन्दा पौडेल गुट बलियो मानिन्छ । उनले भने, ‘आशा छ, मेरो नेतृत्वमा सहमति जुट्नेछ । यदी त्यसो भए नभएको खण्डमा पौडेल प्यानलबाट चुनावी प्रक्रियामा भाग लिएर भएपनि सभापतिमा लड्ने तयारी भइरहेको छ । म त्यो प्यानलको एक्लो उम्मेद्धार हुनेछु । साथै नेता कार्यकर्ताको साथ पाउने छु ।’
भदौ २७ गते गाउँपालिका स्तरीय अधिवेशन, असोज १ गते प्रदेश क्षेत्रस्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुन लागेको छ । नेपाली कांग्रेसभित्र अहिले गुटगत छुट्टाछु्ट्टै छलफल र बहस सुरु हुन थालेको छ । अहिलेका सचिव तथा सभापतिका आकांक्षी कर्णबहादुर शाहीले दुई महिना अघि सभापतिको उम्मेद्धारी घोषणा गरेको समेत बताइएको छ ।