काठमाडौँः यता कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नसक्नेबारे औपचारिक जानकारी नआएको बताउछन ।
बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनःफोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कमपासहित १८ स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताए ।
समन्वयविना फोहरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरुपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।
अठार दिनपछि गत बुधबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उठ्न थालेकोमा सबै स्थानको फोहर सझैसम्म व्यवस्थापन हुन सकेको छैन । फोहर उठ्न थालेको छ दिन हुँदासम्म काठमाडौँका मुख्यमुख्य चोक सफा हुन सकेको छैन । कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर उस्तै छ ।
नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखिको फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने बताइएको छ । अहिले साविकअनुसार फोहर व्यवस्थापनको काम भइरहको छ । “धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भने । रोकिएको समयमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको छ ।
सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भएको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ ।
शहरी विकास तथा भवन निर्मण विभागका महानिर्देशक नवराज प्याकुरेलले केही दिनभित्रै कामपा र विभागबीच छलफल गरेर कहिलेबाट फोहर लानेबारे समय तय गर्ने बताएका छन । महानिर्देशक प्याकुरेल फोहर व्यवस्थापनका सन्दर्भमा कामपाले तत्काल आवश्यक पर्यो भन्दै विभागलाई औपचारिक पत्राचार नगरेको बताउछन ।