काठमाडौ । नेपाली राजनीतिका चतुर खेलाडीमध्येका एक हुन, केपी शर्मा ओली । इतिहासमा सबैभन्दा छुद्र बोलेर बेतुकका उखान र टुक्का हाल्ने तिनै ओली अहिले झण्डै दुई तिहाई सरकारका प्रधानमन्त्री छन । नेपालका चतुर राजनीतिक खेलाडी स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई समेत पन्छाएर जनयुद्ध जितेका प्रचण्ड अहिले ओलीको इशारामा चल्न बाध्य छन ।
गणतन्त्रपछि दुई तिहाई बहुमत हासिल गरेर १० बर्ष युद्ध लडेको माओवादी पार्टीलाई आफ्नो इशारामा नचाउनु ओलीको शोख बनेको छ । जुन धेरै राजनीतिक खेलाडीका लागि चिउरा चपाउनु सरह हो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले त प्रचण्डसँग नसकेर धर्तीबाट बिदा भएको इतिहास सबैसामु छर्लंग छ ।
दुई तिहाई बहुमतले पुपुल्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो एक हप्ता अध्यादेश राजनीतिले गहिरो संकटमा फसाएको छ । राष्ट्रपतिदेखि सेनापतिसम्म आफू अनुकुल रहदा दुई तिहाई बहुमतको प्रधानमन्त्रीले एउटा सामान्य अध्यादेश ल्याउँदा यति धेरै सकंट आउला भनेर उनले सोचेकै थिएनन् । तर नसोचेकै भईदियो । राजनीति फोहोरी खेल ठान्ने नेताहरु यसैमा डुबुल्की मार्न खुब रुचाउँछन । ओली यसका झन् प्रखर पौडीबाज हुन ।
बुधबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एक नयाँ चाल चलेका छन । जुन नेकपाको सचिवालय बैठकमा मात्रै होइन । नेकपाभित्र र बाहिर यसले थप हलचल ल्याउने निश्चित छ । आफूलाई नसोधेरै नेकपा नै फुटाउने गरी अध्यादेश ल्याएको झोकमा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल ओलीलाई यसपटक राम्रोसँग तह लगाउन चाहन्छन । यसका लागि सबै योजना दुई नेताले बुनिसकेका पनि छन ।
पार्टीको अध्यक्ष वा प्रधानमन्त्री पदबाट हटाउने पूर्ण योजनाका साथ लागिरहेका प्रचण्ड र माधव नेपाललाई नै सरप्राइज दिने प्रस्ताव ओलीले अगाडी सारेका छन । जुन ओलीको नयाँ चाल मात्रै होइन । आफूलाई फसाउन खोजेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र स्वंयम बामदेव गौतमका लागि 'मायाजाल' पनि हो ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई कोरोना संक्रमणको अन्त्यपछि प्रधानमन्त्री बनाउने उद्घोष गरेका छन । प्रचण्ड र माधव नेपाल लगायत सचिवालयका बहुमत सदस्यको मागअनुसार आफूले प्रधानमन्त्री छाड्ने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले निर्धक्कसँग राखेका छन ।
बामदेव गौतमले चुनाव हारेको तीन बर्षयता पनि अब आफु प्रधानमन्त्री बन्ने बताउँदै आएका छन । यसका लागि उनले संविधान संशोधन गर्न माग गर्दै आएका छन । तर प्रधानमन्त्री बन्नु परको कुरा सांसद मात्रै बन्न लालयित बामदेवलाई राष्ट्रियसभा सदस्यमा नेकपाबाट सिफारिस भएपनि ओलीले पेन्डिंगमा राखेका छन । अर्थात उनले नेकपा सचिवालयको निर्णय कार्यान्वयन गरेका छैनन् ।
बर्दियामा आफूलाई चुनावमा हराउन ओलीले खेल खेलेको आरोप लगाउने बामदेवलाई ओलीले नै प्रधानमन्त्री बनाउन खोज्नु यसभित्र ठूलो खेल रहेको बुझ्न अब जोसुकैलाई पनि गाह्रो छैन । ओलीकै कारण बामदेवले चुनाव मात्रै हारेनन् । प्रचण्डलाई समेत एमाले हुँदै नेकपाको कित्तामा पुर्याएर ओलीलाई दुई तिहाई बहुमत दिलाएर प्रधानमन्त्री बनाए ।
तर त्यसको पुरस्कारस्वरुप बामदेव बर्दियामा कांग्रेसका एक सामान्य नेतासँग पराजित भए । चुनाव जितेर ओली सिंहदरबार छिरे । तर बामदेव भैसेपाटी घरमै सिमित भए । ओलीले चुनावमा सहयोग नगरेका कारण आफूले हारेको बामदेवको कथन अझै छ ।
उनी आफ्नो कट्टर दुष्मन ओली भएको खुल्लमखुल्ला बताँउदै आएका छन । आफूलाई दुष्मन ठान्ने ओलीले उनै बामदेवलाई प्रधानमन्त्री पदको अफर गरेर नेकपाको बहुमत सचिवालयलाई २ सय २० भोल्टको झट्का दिएका छन ।
प्रचण्ड (माधव-झलनाथ-बामदेव) गुट फुटाउने
स्पष्ट छ, केपी ओली हरेश खादैनन् । उनी झुक्न झनै जान्दैनन् । इतिहासमै सबैभन्दा लामो नाकाबन्दी लगाईदिएको भारतसामु नझुकेका ओली आफूभन्दा तल्लो बरियताका प्रचण्ड र माधव नेपालसँग झुक्ने झन कुरै छन ।
अध्यादेश फिर्ता लिन लगाएर ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्ने कसरतमा लागेका प्रचण्ड र माधव नेपाललाई बामदेव गौतमको ठूलो साथ सहयोग छ । तर एमाले र माओवादी पार्टी मिलाएर नेकपालाई दुई तिहाई बहुमत दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका बामदेवलाई ओली सरकारले न्याय गर्न सकेको छैन ।
पार्टी एकिकरण गर्न सहयोगी भूमिका खेलेका विष्णु पौडेललाई महासचिव बनाउने तर एकताको सुत्राधार मानिने बामदेवलाई हराउने र पाखा लगाउने ओलीलाई यसबेला जसरी पनि तह लगाउन चाहन्छन, गौतम पनि । तर फेरि यसको प्रत्यक्ष फाइदा प्रचण्ड र माधव नेपाललाई मिलेको छ । बामदेव गौतमलाई होइन ।
प्रचण्ड र माधव नेपालको गठबन्धनका कारण ओली सचिवालय, सरकार, पार्टी र गुटमा पनि एक्लिएका छन । ओलीलाई राम्रोसँग थाहा छ, प्रचण्ड र माधव नेपाललाई नफुटाएसम्म नेकपाको चाबी आफ्नो हातमा पर्दैन भन्ने कुरा । यसका लागि माधव नेपाललाई फकाउन ओलीले हप्तादिन र्खिर्चए ।
तर प्रचण्डको न्यानो माया पाएका माधव नेपाल लोभिएनन् । यही मौकामा प्रधानमन्त्री बन्ने सुुरसार कसेका नेपाललाई ओलीसँग बदला लिने मौका पनि छ । पार्टी एक भएपछि प्रचण्डलाई च्यापेर आफूलाई कर्नरमा पार्नुका साथै चरम राजनीतिक घृणा गर्न थालेपछि बामदेव र माधव नेपाल ओलीसँग रिसाएका हुन ।
त्यही रिसका कारण माधव नेपाल फकिन मानेनन् । प्रधानमन्त्री पद जाने नै भएपछि ओलीले यो पद अब बामदेवलाई अफर गरेका छन । प्रचण्ड गुटमा माधव नेपाल, झलनाथ खनाल र बामदेव भएकै कारण आफू कमजोर भएको ओलीलाई थाहा छ । अब प्रचण्ड गुटलाई कमजोर पार्न माधवलाई होइन, बामदेवलाई फकाएर हातमा लिनुपर्छ भन्ने ओलीको सुत्र छ । किनकी पदीय लोभमा माधव नेपाल भन्दा बामदेव अगाडी छन ।
यसै पनि उनी प्रधानमन्त्री बन्न निकै आतुर छन । यसअघि पटक पटक उपप्रधानमन्त्री भइसकेका बामदेव प्रधानमन्त्री भएपछि राजनीतिक जीवनको शिखरमा पुग्ने महत्वाकांक्षा राख्छन । जुन ओली बाहेक अरुले पुरा गर्न सक्दैनन् ।
बामदेवलाई आफ्नो कित्तामा ल्याएपछि झलनाथ खनालाई राष्ट्रपति बनाउने ओलीको योजना छ । आगामी महाधिवेशनबाट अध्यक्ष बन्न बामदेव प्रधानमन्त्री, झलनाथ खनाल राष्ट्रपति, विष्णु पौडेल महासचिव र इश्वर पोखरेल सारथी भए ओलीलाई पुग्छ ।
यसको रणनीतिक चाल उनले बामदेवबाट शुरु गरेका हुन । यदि बामदेव प्रधानन्त्री बन्न तयार भएको खण्डमा ओलीले अझै दुई चार महिना प्रधानमन्त्री बन्न पाउँनेछन । आफु पार्टी अध्यक्ष रहिरहने र सबै नेताहरुलाइ सेटल गरेर प्रचण्डलाई पाखा लगाउँदै आगामी महाधिवेशनबाट नेकपाको अध्यक्ष बन्ने ओलीको भित्री योजना छ ।
बामदेवपछि फेरि ओली प्रधानमन्त्री !
ओलीले प्रचण्ड, माधव नेपाल र झलनाथलाई पन्छाएर बामदेवलाई प्रधनमन्त्री बनाउनुको खास कारण छ । त्यो हो ओली फेरि प्रधानमन्त्री बन्ने बाटो खोल्नु । बामदेवलाई बाँकी दुई बर्षको प्रधानमन्त्री बनाएर ओली यसबीचमा नेकपाको एकमात्रै नेता बन्न चाहन्छन ।
बामदेवको विश्वास लिएर झलनाथलाइ समेत आफुतिर ल्याएपछि ओलीलाई प्रचण्डसँग जित्न गाह्रो छैन । आगामी महाधिवेशनबाट अध्यक्ष भएर पार्टी चुनावमा जान्छ । दुई तिहाई सरकारको पहिलो प्रधानमन्त्री, एकिकृत पार्टीको पहिलो अध्यक्ष, दुरदर्शी नेता, राष्ट्रवादी नेताको छवि उजिल्याएर ओली अर्को चुनाव पनि जित्न सक्छन ।
यसका लागि उनले यसबीचमा सबै तयारी गर्न सक्छन । चुनाव जितेपछि फेरि प्रधानमन्त्री बन्ने पालो कसको ? उत्तर सरल छ, जसले चुनाव जितेर आयो उसैको । फेरि आफ्नै नेतृत्वमा चुनाव जितेपछि उनले सरकारको नेतृत्व पनि पाउँछन ।
बरु आधाआधा गरेर सत्ता चलाउने सहमति गरेर भएपनि ओली प्रचण्डलाई पन्छाएर फेरि प्रधानमन्त्री बन्न सक्छन । यसका लागि अहिलेबाटै गुट बलियो पार्न उनी बामदेवलाई प्रधानमन्त्री बनाउन चाहन्छन ।
यदि ओलीको प्रस्ताव बामदेवले माने भने नेकपाको राजनीति फेरि ओलीकै इशारामा चल्नेछ । तर यसका लागि प्रचण्ड र माधव नेपाल कस्तो रणनीति बनाउँछन ? र ओलीको 'ललिपप'मा बामदेव भुलिन्छन की भुलिदैनन् भन्ने कुरामा निर्भर छ ।