जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली दुईतिहाई बहुमतको प्रधानमन्त्री बने । पहिलोपटक मुगुबाट चुनाव जितेका एमाले सांसद गोपाल बमले आफ्ना अध्यक्ष तथा प्रधानमन्त्रीलाई रारा लिए । समृद्धिको सपना देखाउन लगाए । पर्यटनबाटै नेपालको समृद्ध सपना पूरा गर्न सकिन्छ भन्ने सुझाए पनि । तर ओलीले सपनाको समृद्धि छाडेर आफ्नै सांसद पद समेत दाउमा राखिदिए । सयौँ एमाले सांसदको पद उडाएका ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन एमालेकै नेताहरु लागे । तर पनि गोपाल बम तटस्थ थिए । उनी ओलीकै पक्षमा लागे । तर ओली जनताको बन्नुको साटो आफ्नै दम्भको घमण्डमा सीमित भए । दोस्रोपटक पनि ओलीले संसद विघटन गरेपछि गोपाल बमले क्याम्प परिवर्तन गरे । माधव नेपालको साथमा हिँडे । अहिले उनी माधव नेपालकै नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीमा छन । आखिर उनी किन नेकपा समाजवादीमा लागे त ? कर्णाली खबरका लागि नमराज आचार्यले उनै मुगुका पहिलो कम्युनिष्ट नेता समेत रहेका बमसँग गरेको कुराकानीको सम्पादित अंशः
- तपाई विशाल एमाले छाडेर माधव नेपालको नेकपा समाजवादीमा किन लाग्नुभयो ?
एमाले हिजो सानै थियो । अहिले ठूलो बनेको हो । हिजो २०२६ सालमा, २०४६ सालमा, २०४८ सालमा पनि सानै थियो । २०५१ सालमा केही ठूलो बन्यो । पहिलोपटक सरकारमा गयो । तर पार्टी अनुसारको नेतृत्व भएन । हिजो एमाले बनाएका माधव नेपालहरुले बस्न उचित नठानेको एमाले कसरी अब ठूलो रह्यो ? त्यसैले पार्टीभन्दा जुन व्यक्तिले पार्टी राम्रो बनाउँछ । त्यहाँ जाने हो । हामी पार्टीभन्दा विचार भएको व्यक्ति र पार्टीमा लागेर समाजवादीमा आएको हो ।
- समाजवादीका लागि कर्णालीमा के के गतिविधि गर्नुहुन्छ ?
कर्णालीमा प्रतिगामीको अन्त्य गरिन्छ । हिजो पनि गरिएकै हो । जुन दिन ओलीले प्रतिगमन गरे । त्यो दिनदेखि नै हामीले नयाँ बाटो लिएका हौँ । हामीले केही गर्नुृ पर्दैन । एमाले अब आफै सिद्धिन्छ । ओलीले दुई चोटी संसद विघटन गरे। एमाले पार्टीलाई कलंकित गराए। सत्यको जित हुन्छ । प्रतिगामीको बिरोध गरियो अनि केपीको सरकार ढल्यो । अब हामी जनताको हित र विकासको लागि अघि बढ्छौ ।
- अब आगामी चुनावमा कर्णालीमा एमाले र समाजवादीको अवस्था कस्तो हुन्छ ?
कर्णालीमा एमाले शुन्य हुन्छ । अब कर्णालीमा समाजवादी नै आउँछ अघि। एमाले जिते पनि सुर्खेत दैलेख र मुगुमा भन्न सकिदैन्। यी तिन जिल्लामा पनि हल्का सम्भावना छ। तर गाह्रो पनि छ। अरु जिल्लामा एमाले शुन्य नै हुन्छ। समाजवादी शक्तिशाली हुन्छ । केही फाइदा कांग्रेस र माओवादीलाई पुग्ला । तर एमालेभन्दा शक्तिशाली हामी हुन्छौँ ।
- तपाईले भन्दैमा एमाले कर्णालीमा शून्य हुन्छ र ?
अब कर्णालीका एमालेको कसले विश्वास गर्छ। के छ अब आधार ? पहिला माओवादी र एमाले मिलेर जितेका थिए। दुई पार्टी मिलेर जितेका थिए। यो त् अब सम्भव छैन। अब माओबादीले एमालेलाई सहयोग गर्दैन। एमालेले विश्वासघात गरिसकेको छ। अब कर्णालीमा एमाले शुन्य हुन्छ। समाजवादी नै अघि आउँछ ।
- कर्णालीको विकास किन हुन सकेन ?
कर्णालीमा ठुलो नेतृत्व गर्ने भएन । माथिल्लो पोस्टमा भएर कर्णालीको बारेमा बोल्दिने कोहि भएन् । सुदूरपश्चिममा कांगेसबाट शेरबहादुर देउवा एमालेबाट भिम रावल छन्। पुर्बबाट केपी शर्मा ओलीले । पूर्व विकास भयो । बुटवल पनि विकास भयो । नेपालगञ्ज पनि विकास भयो । तर कर्णाली विकास हुन सकेन । कर्णालीमा कुनै पनि पार्टीको प्रतिनिधित्व गर्ने नेता छैन्। माथिल्लो दर्जा आर्मी, प्रहरी, प्रशासनमा कुनैमा पनि कर्णालीका प्रतिनिधित्व न नेता त कर्मचारी नै छन् ।
त्यसैले कर्णालीमा हेर्ने दृस्टी नै फरक छ। त्यसैले पनि विकास हुन् सकेन्। पहिला कर्णाली राज्य हुँदा धनि थियो। कर्णाली राज्यको आफ्नो तामा खानी फलाम खानी थियो। तिब्बत सरकारसंग राम्रो सम्बन्ध थियो । सुन र नुनको ब्यापार थियो। रानी राज्यलक्ष्मी शाहले सबै कब्जा गर्न सके। तर कर्णाली सकेन्। पछि कर्णालीमा कोहि नभएको मौकामा कर्णाली राज्य कब्जा गरियो। त्यसपछि राणाकालमा पछि पंचायतीकालमा पनि कर्णाली पछि परेको हो । बहुदल आउँदा पनि कर्णाली विकास हुन सकेन । यस्तो शक्तिशाली राज्य अहिले प्रतिनिधित्व गर्ने नेता नहुँदा विकास हुन् सकेन्।
- विकासका लागि अब के गर्नुपर्ला ?
कर्णाली भौगोलिक र प्रकृतिका हिसाबले निकै सुन्दर छ । तर विकासमा पछि परेको छ। कर्णाली विकासको लागि सबै पार्टी मिल्नुपर्छ । तब मात्र कर्णालीको विकास गर्न सकिन्छ । गर्न नसकिने भने केहि छैन। कर्णालीलाई हेर्ने दृस्टीकोण बदल्नुपर्छ । कर्णालीको सुन्दरता हेर्न त् जान्छन। तर हेरुन्जेलसम्म सबै छ। त्यसपछि बिर्सन्छन् । त्यसैले कर्णालीलाई कहिल्यै नबिर्सने नेताको कमी छ । नेकपा समाजवादी पार्टीले त्यसको नेतृत्व गर्छ ।