जुम्ला : प्रहरीको काम के हो ? समाजमा भइरहेका अपराधिक क्रियाकलापलाई रोकथाम गर्ने, स्थानीयद्धारा आएका गुनासोलाई सुन्ने, उजुरी बुझ्ने, त्यसको छानविन गर्ने पीडकलाई सजाय, पीडितलाई न्याय दिने हो । पछिल्लो समय जुम्ला प्रहरीले पीडितलाई सजाय दिने पीडकलाई संरक्षण गर्ने गरिरहेको पाइएको छ ।
शनिबार जुम्लाको सिंजा गाउँपालिका– ३ धिताललिही कि ३३ वर्षीय सत्यावती धितालमाथि कुटपिट भयो । कुटपिट गरेर अपशव्द बोल्ने व्यक्ति हुन् स्थानीय कर्मराज धिताल । सत्यावतीमाथि आफु, श्रीमती, भाइ बुहारीसहित चारजनाले निर्घात कुटे । कुटपिटसँगै उनीमाथि सबैले अपशब्द बोले । निर्घात कुटपिटबाट सत्यावती अचेत भइन् ।
सत्यावतीका श्रीमान बाहिर थिए । उनलाई भतिजी नाता पर्ने मिना अधिकारीले नजिकै रहेको नराकोट अस्पतालमा उपचारका लागि ल्याइन् । नराकोट अस्पतालमा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । नराकोट स्वास्थ्यचौकीले उनलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिदियो । प्रतिष्ठानमा उनको उपचारपछि स्वास्थ्यमा सुधार आयो । उनका श्रीमान धर्मचन्द्र धिताल आइतबार जुम्ला पुगे ।
विनाकारण श्रीमतीलाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिन गए । तर, प्रहरीले उजुरी लिन मानेन । साक्षी चाहियो भनेर उनीहरुलाई फर्काइदियो । उनीहरुलाई फर्काएको प्रहरीले जसले निर्घात कुटपिट गर्ने पीडकको उजुरी दर्ता गरायो ।
रोचक त यतिबेला बन्यो । प्रहरीले पीडितको मुद्धा दर्ता गर्ने कि पीडकको ? जसले निर्घात कुटेको छ । उनको श्रीमान बाहिर छन् । आफ्न्तले अस्पतालसम्म पुर्याउँछन् । उनको स्वास्थ्य एक दुईदिनमा सुधार आउँछ । अन्याय सहन नसक्ने अवस्था आएपछि उजुरी दिन जाँदा प्रहरीले उजुरी दर्ता नगरी फर्काउनु यो प्रहरीले पीडामाथि पीडा त थप्यो नै । प्रहरीले पीडकलाई संरक्षण समेत गर्यो ।
अन्यायविरुद्ध लड्ने त्यो प्रहरी घटना मुखैमा देख्दा पनि साक्षी खोजिरहनु यो जस्तो लाजमर्दो प्रहरीको काम के हुनसक्छ ।
प्रहरी कहाँ मुद्दा दर्ता गर्न नेताको पावर पहुँच हुनुपर्छ ? पहुँचवालाहरुले समाजमा जस्तोसुकै अपराध गरेपनि मुद्दा दर्ता नहुँने हो ? गरिब निमुखाहरुले प्रहरी कार्यालयमा उजुरी दिन नपाउने हो ? कि पीडितलाई झन् प्रहरीको काम पीडा दिनु हो ? पीडित कुटिन्छ् अस्पतालमा हुन्छ । उनको कोही हुँदैन आफ्न्तले अस्पतालसम्म पुर्याइदिन्छ । स्वास्थ्यमा सुधार आउँछ । श्रीमान बाहिरबाट आएर प्रहरी कहाँ जान्छन् । तर प्रहरीले मुद्दा दर्ता नगरी फर्काइदिन्छ ।
स्थानीयका अनुसार पीडक भनिने व्यक्ति धन सम्पत्ति भएको, गाउँलेलाई नबुझ्ने मैहुँ भन्नने सम्मका हुन् । त्यसलाई प्रहरीले संरक्षण गर्नु यो भन्दा ठुलो अपराध के हुनसक्छ । यसकारण जुम्ला प्रहरीले पीडितलाई न्याय होइन् पीडा दिँदै गएको छ ।
घटना सन्दर्भ पीडितसँगको कुराकानी:
तपाईमाथि कुटपिट कसरी भयो ?
‘२०७६ मंसिरमा सिंजा गाउँपालिकाबाट १५ लाखको सिंचाइ योजनामा आयो । जेठाजु (सिंजा – ३ का अन्दाजी ३८ वर्षीय पुरुष कर्मराज धिताल)ले मलाई कोषाध्यक्ष बस्नु पर्यो भन्नु भयो । मैले घरमा काम गर्ने मान्छे छैन भने । जेठाजु (जसले उनीमाथि निर्घात कुटपिट गरे)ले भन्नुभयो तिमीले काम गर्नु पदैन् समितिमा बसे मात्रै हुन्छ । अरु काम गरेको पैसापछि दिन्छु भनेर भन्नु भयो । खाता खोल्नको लागि नागरिकता माग्नु भयो । नागरिकता मसँगै थिएन । मतदाता नामावली थियो । त्यहीं दिए । काम हुँदो रहेछ । काम भइसकेपछि जेठाजुले भन्नुभयोे बुहारी मैले त्यो कामको ठेक्का अरुलाई नै दिए । तर, पैसा भने आउँछ । चिन्ता नगर्नु भन्नु भयो । मलाई एउटा चेकमा हस्ताक्षर गर्न लगाउनु भयो ।
'त्यो पैसाको आशा भर मलाई थिएन । १५ लाख पैसा कहाँ गयो त्यो पनि थाहा छैन । बिहिबार (यहीं साताको) गाउँमा सहकारीको बैठक बस्यो । सरकारीले नागरिकता माग्यो । त्यो भएन भने नामावली (मतदाता परिचयपत्र) हुन्छ भन्यो ।
मैले उहाँसँग (कुटपिट गर्ने) जेठाजुसँग नामावली मागे । उहाँले सुरुमा घरमा गएर लैजानु भन्नु भयो । घरमा गए जेठाजुले भोटकार्ड (मतदाता परिचयपत्र) ल्याउनु भएको थियो । सहकारीमा चाहिँएको छ, लिन आएको हुँ भने । घरपरिवारले छैन भने ।
त्यसपछि घर आइसके । शनिबार (कुटपिट गर्ने) धितालसँग जेठाजु मेरो भोटकार्ड घरमा छैन भन्नु भयो । कहाँ राख्नु भएको छ । दिनु पर्यो । सहकारीमा चाँहिएको छ । भनेर भने । त्यसपछि जेठाजुले रिसाउँदै ‘मतादाता नामावली मसँग छैन । मसँगै छ भन्ने प्रमाण के छ ? रन्डी, वेश्या’ भन्दै अपशव्द बोल्नु भयो । मैले केही बोलिन तीनि (श्रीमान) आएपछि कुरा गरौंला भनेर । घर जाँदै गर्दा यसलाई मार्नुपर्छ भनेर आफ्नो परिवारलाई बोलाउनु भयो । मलाई आक्रमण गर्न सुरु भयो । मलाई सबैले कुट्नु भयो । त्यसपछि म अचेत भइसकेको थिए । मलाई भतिजीले अस्पताल ल्याउनु भएछ । मेरो स्वास्थ्य सुधार भएपछि उजुरी दर्ताका लागि प्रहरी कहाँ पुगेको थिए । प्रहरीले उजुरी दर्ता गरिदिएन । साक्षी माग्यो । साक्षी लिन तीनिलाई (श्रीमान) गाउँ पठाएको छु ।’
कार्यालयमा आएको पीडितको उजुरी दर्ता नगर्नु महिलामाथिको दुर्व्यवहारमाथि प्रहरीको दुर्व्यवहार हो । तर, जुम्ला प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले प्रहरी उजुरी दर्ताका लागी साक्षी नखोजेको बताए । उनले, ‘घटना बुझेर दर्ता गर्ने हो । त्यतिकै दर्ता गर्ने हो । उजुरी दर्ता तपाईहरुले गर्ने होइन् । प्रहरीले गर्ने हो । कुटपिट काण्ड यो पहिलो होइन । यस्तै घटनाहरु दर्जनौं छन् ’ झर्किदै भने, ‘प्रहरी कार्यालयमा आएका सबै उजुरी दर्ता हुँदैनन् ’ ।
उनको यस्तो जवाफले पीडतलाई न्याय होइन, पीडकलाई संरक्षण गरे । यस्तो घटना मुखै अगाडी हुँदा प्रहरीले लाज पचाएर यस्तो जवाफ दिनु भनेको प्रहरीको मिलेमतोमै महिलामाथि अपराध हुनु हो ।
यस विषयमा अधिकारकर्मी, सरोकारवालाहरु मौन छन् । किन ? कारण महिलामाथि कुटपिट गर्ने धितालले गाउँमा गुण्डागर्दी गर्दै सबैलाई हेप्ने, धम्काउने, धनको घमण्ड गर्ने व्यक्ति मध्येका एक हुन् ।
उनका प्रहरी कार्यालयमा थुप्रै मुद्धा छन् । प्रहरीले उनलाई संरक्षण गरिरहेको छ । जुम्लामा प्रहरी प्रहरी नभएको स्थानीयको गुनासो आइरहेको छ ।
प्रहरीले हिंसामाथिका उजुरी सहज रुपमा दर्ता नगर्नु भनेको प्रहीले अर्को हिंसा गर्नु हो । यस्ता हिंसामाथि जुम्ला प्रहरीले कयौं हिंसा गरिरहेको देखिन्छ । यता जुम्लामा हिंसात्मक घटनाहरु वृद्धि हुँदै गएका छन् । बलात्कारका घटनाहरु वृद्धि हुँदै गएका छन् । प्रहरी भने मौन छ ।