काठमाडौ । कोरियामा रहेका सुर्खेत घाटगाउँका युवाहरुको सहयोगमा चौकुने गाउँपालिका वडा नं. १० ले नागरिकलाई नुन वितरण गर्दाको साक्षी बनेका नेकपा चौकुने गाउँ कमीटिका नेताहरुको चर्को आलोचना भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा नेकपाका गाउँ कमीटि सचिव हरि अधिकारी, वडाध्यक्ष शंकर टमाट्टा, नेकपा वडा कमीटि सदस्य लालसिंह बिक, नेकपा गाउँ कमीटि सदस्य रतन चलाउनेको चर्को आलोचना भएको हो ।
कोरियामा रहेका घाटगाउँका युवा आशाराम ढुंगाना, प्रवीण शाही, शिव शाही लगायत १० जना युवाले साबिकको घाटगाउँ गाविसका १० वटै वडाका लागि आयोडिन नुन वितरण गर्न केही सहयोग रकम पठाएका थिए ।
अहिले चौकुने १० नम्बर वडामा पर्ने कुमालामा बुधबार नुन वितरण पनि गरियो । तर नुन वितरणको फोटो भने सामाजिक सञ्जाल फेसबुकमा भाइरल बन्यो ।
सुर्खेत चौकुने १० कुमालामा नुन वितरण चलिरहेका बेला चौकुने गाउँ कमीटिका सचिव हरि अधिकारी पनि संलग्न भए । उनी पछिल्लो केही दिनयता चौकुनेका विभिन्न ठाउँको भ्रमणका साथै कार्यकर्ता भेटघाटमा छन ।
दैनिक उनले यसबारे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी पनि दिने गरेका छन । उनी कार्यकर्ता भेटघाट र लकडाउनको अवस्थाबारे बुझ्न कुमाला पुगेका थिए । संयोग त्यही बेला वडाध्यक्ष, वडा कमीटि अध्यक्ष, सदस्य लगायतले नुन वितरण शुरु गरेका थिए ।
सोही क्रममा पुगेका अधिकारीले विदेशममा रहको युवाहरुले गाउँठाउँलाई सहयोग गर्नु राम्रो भन्दै सामाजिक सञ्जाल फेसबुकमा कोरियामा रहेका युवाहरुको प्रशंसा गरेका थिए ।
गाउँकै युवाहरुले लकडाउनमा गाउँमा नुन नपाइने समस्या रहेका बेला सानो सहयोग स्वरुप पठाएको रकमले नुन वितरण हुनु राम्रो भएको अधिकारीले फेसबुकमै लेखेका छन । साथै उनले अरु नेता कार्यकर्तासँग भेटघाट गरेको जानकारी पनि सोही पोष्टमा गराएका छन ।
"आज कोरियामा रहेका घाटगाउ निवासी युवाहरुले कठिन मेनहत गरि कमाएको पसिना कटाई चौकुने वडा न ९ र १० का सबै घरधुरी लाई पुग्ने गरि सानो राहत स्वरुप एक घर एक किलो आयो नुन कुमालामा वितरण भयो । महामारीमा सहयोगी हातहरुलाई सलाम छ । कार्यक्रममा वडाध्यक्ष शंकर कामी, नेकपा वडा कमिटी अध्यक्ष लाल सिङ बिक, स्वयंसेवक निर्मल बिक, प्रेम बिकसहित नेकपा गाउँ कमिटी सचिवालय सदस्य रतन चलाउने रहनु भएको थियो । आजै घाटगाउँ ८६ बर्षीय जेष्ठ नागरिक धर्मे धमाला, नेकपा जिल्ला कमीटि सदस्य हरि खनाल, नेताहरु रमेश खनाल, महेन्द्र खनाल, अमर टमटा, गुमानसिंह विक, इन्जिनियर उपेन्द्र खनाल, प्राविधिक हृद्य खनालसहित नेपाली कांग्रेस सभापति चन्द्र खनाल, वडासचिव मीन बहादुर भण्डारीसहित आदरणीय व्यक्तित्वहरुसँग कोरोना भाइरसविरुद्धको अभियानबारे भलाकुसारी भयो । लकडाउन सफल बनाउन कसरत गरिरहेका नागरिकहरु सबैलाई सलाम छ" अधिकारीले फेसबुक पोष्टमा लेखेका छन ।
तर यो पोष्टसहित अधिकारीले नुन वितरण गरिएका फोटो सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल बने । लकडाउनका बेला युवाहरुले पठाएको रकममा थपथाप गरेर चामल, दाल, तेल बाड्नुको साटो एक प्याकेट नुन वितरण गरेको साक्षी बनेको भन्दै अधिकारीसहितका नेताहरुको चर्को आलोचना भयो ।
अधिकारीकै पोष्टमा कमेन्ट गर्दै तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका हरि बिष्ट लेख्छन, 'नुन मात्रै कमरेड ? कति ज्ञानी छन है त्यहाँका जनता ? कमसेकम आफ्नो पार्टी वा व्यक्तिगत तर्फबाट थपेर चामल, दाल वा तेल त दिनुपर्छ । कोरिया नेपाल जनसम्पर्क समितिलाई धन्यवाद छ ।'
फेसबुकमै जीवन शाही रास्कोटी लेख्छन, 'राहतमा नुन खुवाएर हुन्छ कि चामल दिनुपर्ने हो ? यस्तो गर्मीको बेला कसले नुन खान्छ र ? अरुको गाउँतिर चामल, तेल, दाल, सब्जी बाडिरहेका छन । तर कुमालामा नुन बाडिरहेका छन । के पारा हो र यस्तो ?'
अधिकारकै कमेन्ट बक्समा लक्ष्मीनारायण बस्नेत लेख्छन, 'राहत बाडेको हो कि पार्टीको कार्यक्रम गरेको हो, हैट ! राहतका नाममा राजनीति फिटिक्क सुहाएन । कोरिया बसेकाहरुको पनि अझै उस्तै दसा रहेछ । उफफ...'
झण्डै दुई सय बढीको लाइक, एक सय हाराहारीका कमेन्टमा धेरैले अधिकारीको पोष्टमा धन्यवाद दिदै युवाहरुको साथ सहयोगप्रति आभार व्यक्त गरेका छन । लोगबहादुर टमाटट लेख्छन, 'यसरी विदेशमा मेहनत गरेर नागरिकलाई सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई धन्यवाद ।'
नेताको आलोचना, लाजको पसारो टिप्पणी !
अधिकारीले फोटोसहितको जानकारी दिएर कोरियामा रहेका युवाहरुको हौसला बढाउन खोजे । तर उल्टै उनी नै आलोचनाको शिकार बने । उनैले फेसबुकमा हालेका फोटोहरु शेयर गर्दै बुधबार दिनभरदेखि बिहीबारसम्म पनि आलोचना रोकिएको छैन ।
सुर्खेतका पत्रकार सुदीप पुरीले अधिकारीको पोष्टका फोटो शेयर गर्दै राहतका नाममा एक प्याकेट नुन वितरण गर्नु लाजको पसारो भएको टिप्पणी गरेका छन । एपीवान टेलिभिजनका सुर्खेत संवाददाता पुरीले सामाजिक सञ्जाल फेसबुकमा लाजको पसारो क्याप्सन दिएर लेखेका छन, "सुर्खेत पश्चिम् चौकुनेमा वितरण गरिएको राहत एक किलो आयो नुन । सहयोग कोरियामा रहेका १० जना युवाहरूको नगद ३३ हजार रुपैयाँ । सात समुन्द्र पारीबाट रगतको पसिना बगाउदै पठाएको सहयोगप्रति सबैको उच्च सम्मान छ । तर राहत बाड्ने होनहार नेता ज्युहरुले केही गर्ने उत्तरदायित्व हुदैन र ?"
नेकपाका गाउँ कमीटि नेताहरुलाई व्यंग्य गर्दै पुरीले लेखेको स्टाट्समा झण्डै पाँच सयको लाइक छ । पाँच सयकै हाराहारीमा यो पोष्ट शेयर पनि भएको छ । निम भाई नाम गरेका फेसबुक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन, ती कुर्सीमा बसेकाले के सम्झिरहेका होलान ? यी फोटो सामाजिक सञ्जालमा पाउँदा ।
हुन पनि कोरियामा रहेका युवाहरुले पठाएको सहयोग रकमबाट नुन खरिद गरेर बाड्ने जनप्रतिनिधि र स्थानीय नेताहरुको चर्को आलोचना भएको छ । जुन स्वंयम ती नेताहरुले पनि सोचेका थिएनन् भने सहयोग गर्ने युवाहरुले पनि यो तहको आश गरेका थिएनन् ।
फोटोमा गाउँ कमीटि सचिव अधिकारीसहितका नेताहरु देखिएपनि वास्तवमा उनीहरुले राहतका नाममा नुन बाडेका भने होइनन् । कोरियामा रहेका युवाहरुले पठाएको रकमले नुन खरिद गरेर वडा कार्यालयमा समन्वयमा वितरण गरिएको मात्रै हो ।
कोरियाबाट युवाहरु भन्छन, 'राजनीतिक जमघटप्रति खेद छ !'
आफ्नो गाउँठाउँको सहयोगका लागि हात उठाउँदा साथ र सहयोग पाउनुको साटो आलोचना भएको भन्दै कोरियामा रहेका युवाहरुले असन्तुष्टि पोखेका छन । आफूले राहत नभई सानो सहयोग मात्रै गर्न खोजेको कोरियामा रहेका घाटगाउँका युवा प्रवीण शाहीले बताएका छन ।
उनले सोझै वितरण गर्न नपाइने भएकाले गाउँपालिकामार्फत वितरण गरिएको पनि स्पष्ट पारेका छन । तर राजनीतिक जमघट गरेर नुन बाडिएको प्रति प्रवीणले आपत्ति नै जनाएका छन ।
"सबैको मायाले सानो सहयोग भए पनि गरेका छौ । सबैमा धन्यवाद । तर राजनीतिक जमघटप्रति खेद प्रकट छ" अधिकारीकै पोष्टको कमेन्ट बक्समा शाहीले लेखेका छन ।
गाउँपालिकाको राहत कार्यक्रम खोई ? योजना कहाँ पुग्यो ?
बुधबार सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका अधिकारी नेकपाको चौकुने गाउँ कमीटि सचिव हुन । उनी एक जिम्मेवार नेता र खरो टिप्पणीकर्ताका रुपमा चिनिन्छन । पश्चिम सुर्खेतमा उनको राम्रो कद छ । सुर्खेत जिल्लामै उनी गने मानेका युवा नेता पनि हुन ।
कोरोना भाइरसको महामारीका बेला लकडाउनकै क्रममा उनी गाउँपालिकाको अवस्था बुझ्न सदरमुकामको घर छाडेर बस्ती बस्ती पुगेका छन । यसलाई उनले राजनीतिक उत्तरदायित्व ठानेका छन ।
लकडाउन लम्बिदै जाँदा गरीब र बेरोजगारीको बाहुल्यता रहेको चौकुनेमा भोकमारी आउन सक्ने र सम्भावित समस्या समाधानका लागि पहल थाल्न अधिकारीले चौकुने गाउँपालिकालाई लिखित आग्रह नै गरेका छन ।
केही समय अघि गाउँ कमीटिका १० वटै वडाको बैठकले साझा निष्कर्ष निकाल्दै राहत कार्यक्रम आवश्यक भएकाले विपन्न वर्गको विवरण संकलन गरेर राहत कार्यक्रम ल्याउनुपर्ने निर्णय गरेको थियो । झण्डै पाँच बुदामा गाउँ कमीटिले निर्णय गरेर गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको ध्यानाकर्षण पनि गराएको थियो ।
गाउँ कमीटि अध्यक्ष गंगाराम विक र सचिव हरि अधिकारीले यस्ता थुप्रै निर्णय गरेपनि गाउँपालिकाले अहिलेसम्म राहत वितरण कार्यक्रम भने ल्याएको छैन । चौकुने कोरोना राहत कोष स्थापना गरेर रकम संकलन भएपनि राहत वितरणबारे अहिलेसम्म गाउँपालिकाले कुनै निर्णय गरेको जानकारी छैन ।
कोरोनाविरुद्धको जनचेतना अभियान कार्यक्रममा घरैपिच्छे मास्क, साबुन, स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको गाउँपालिकाको कामले प्रशंसा पायो ।
हालै गाउँपालिकाले काठमाडौँ लगायत विभिन्न शहरमा रहेकाको उद्धार गरेको छ । यसको पनि प्रशंसा भइरहेको छ । तर विपन्न वर्गका लागि राहत कार्यक्रम कहिले ल्याउँछ त्यो एकिन छैन ।
कोरोना महामारीमा जनचेतना फैलाउन, क्वारेन्टाइन निर्माण गर्न, चुस्त व्यवस्थापन र राहत कार्यक्रमकै लागि भनेर कर्णाली प्रदेश सरकारले सबै गाउँपालिकालाई १५ लाख रुपैयाँ बजेट दिएको जनाएको छ ।
यो पनि पढ्नुहोस
कुमालामा पनि आयोडिन नुन वितरण
घाटगाउँमा आयोडिन नुन वितरण
कोरियामा रहेका युवाले घाटगाउँमा 'एक घर, एक आयो नुन' वितरण गर्दै