काठमाडौँ : दैलेखका गोविन्द रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी सीडीओ बनेका छन् । गृह मन्त्रालयले मंगलबार रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको सीडीओमा सरुवा गरेको हो । सहसचिव रिजाल गृहको प्रशासन महाशाखामा कार्यरत थिए ।
दैलेख घर भएका रिजालले शाखा अधिकृतबाट नेपाल सरकारको कर्मचारीतन्त्रमा प्रवेश गरेका थिए । यसअघि दाङ, कैलाली र मकवानपुरका सीडीओ भइसकेका रिजाल स्वच्छ छविका उत्कृष्ट कर्मचारीभित्रमा पर्छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले रिजाललाई काठमाडौँको सीडीओमा नियुक्त गरेको गृह स्रोतले बतायो । यसअघिका काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले पटक पटक विवादित निर्णय गरेपछि आलोचित बनेका थिए । उनलाई गृह मन्त्रालयमा तानिएको छ ।
लोकसेवामा नाम निकाल्ने जिल्लाका रुपमा कर्णाली प्रदेशको दैलेख अगाडि मानिन्छ । गृह प्रशासनमा अनुभवी र अब्लल अब्बल प्रशासकका रुपमा परिचित रिजाललाई क्षमताकै आधारमा काठमाडौँको सीडीओ बनाइएको पनि गृह प्रशासनले जनाएको छ ।
यसअघि सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरमा सीडीओ भएर काम गर्दा पनि उनले विवादरहित काम गरेका थिए । यससँगै संघीय सरकारमा कर्णाली प्रदेशका कर्मचारी अब्बल रुपमा देखिन थालेका छन् ।
चुनौति के के छन् ? अवसर के के हुन् ?
सुरक्षा र चुनौतिका हिसाबले काठमाडौँ रेड जोन हो । गृह मन्त्रालयका हरेक सहसचिवका लागि काठमाडौँको सीडीओ बन्नु सपना हो । साथै सबैभन्दा ठूलो चुनौती पनि हो । काठमाडौँको सीडीओ बन्नु जति चनौतीपूर्ण काम छ, त्यति नै अवसर पनि ।
काठमाडौँको गृह प्रशासन हाकेको व्यक्तिले नेपालका जुनसूकै ठाउँ पुगेपनि सहजै नेतृत्व र कार्यक्षमता देखाउन सक्छन् । काठमाडौँको सीडीओले मूलतः ललितपुर र भक्तपुरको पनि नेतृत्व गर्नुपर्ने हुन्छ । हरेक निर्णय गर्दा उपत्यकाका तीन जिल्लासँग समन्वय गर्नुपर्छ । यसले गर्दा पनि काठमाडौँको सीडीओको कुर्सीमा बस्ने जोकोहीले पनि ठूलो चुनौति मोल्नुपर्ने हुन्छ ।
त्यसमाथि गृह मन्त्रालय र बालुवाटारसँग पनि त्यत्तिकै अलर्ट भएर काम गर्नुपर्ने भएकाले काठमाडौँेको सीडीओमा अतिरिक्त क्षमता र साहसको खाँचो आवश्यक पर्छ । दैलेख घर भएका सीडीओ रिजालले यो चुनौति सहजै पार गर्छन् भन्ने अनुमान छ । अन्यथा यसअघि ९ महिनामै गृह मन्त्रालय तानिएका निवर्तमान सीडीओ पराजुलीकै हालतमा रिजाल पुग्न सक्छन् ।