सिमकोट : पहिलो पटक पार्टीको गतिविधि सञ्चालन गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा एमालेबाट ३६ प्रतिशत जिल्ला कमिटि सदस्य समाहित भएको दाबी गरेको छ । हाल एक जना सदस्य रहेको एमाले जिल्ला कमिटिमा ३६ जना आफ्नो पार्टीमा आवद्ध रहेको सो पार्टीले दाबी गरेको हो ।
जिल्लामा नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको नेकपा एकिकृत समाजवादीका नेताहरुले ओलीको दम्भ, अहंकारकै विद्रोह स्वरुप नयाँ पार्टी जन्मेको बताएका छन् । पहिलो पटक पार्टीका धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजवादी पार्टीका नेताहरुले उक्त धारणा राखेका हुन् ।
दुई तिहाई नजिक रहेको वामपन्थी सरकारलाई धराशायी बनाएर केपी शर्मा ओलीको अहंकारको विद्रोह स्वरुप देशभर नयाँ पार्टी आएको नेकपा एकिकृत समाजवादीका नेता शिवराज शर्माले बताए ।
एमालेको हालत अहिलेको अवस्थामा पुगेको बताउँदै उनले यसको दोषीको भागिदार पनि एमाले अध्यक्ष ओली भएको बताए । दम्भ, अहंकार र व्यक्तिवादी ओली सोचकै कारण अब उनको आगामी यात्रा पतनतर्फ उन्मुख रहेको बताए ।
उक्त पार्टीका अर्का नेता लोकबहादुर हमालले देशभक्त र इमान्दार कार्यकर्ता एकिकृत समाजवादीमा रहेको दाबी गर्दै ओलीको भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्तिको प्रतिफल अहिलेको अवस्था आएको बताए ।
एमालेलाई एक बनाउनकै लागि हुम्लामा सो पार्टीका गतिविधिहरु अन्य जिल्लाको तुलनामापछि सञ्चालन गरेको बताउँदै उनले, ‘अब संगठन विस्तारमा लागेको’ बताए । अर्का नेता हस्त बहादुर शाहीले व्यक्तिवादी सोच र पार्टीको नीतिविरुद्ध मनपरी रुपमा अगाडी बढ्ने ओली प्रवृत्तिकै कारण एमाले विभाजित भएको आरोप लगाए ।
जिल्लामा उनले एकिकृत समाजवादी पार्टी स्थापना भएर गतिविधि अगाडी बढ्ने भएको बताउँदै सबै वर्गका जनसमुदायलाई सहयोग गर्न अपिल समेत गरे । कार्यक्रममा तत्कालिन एमाले सचिव हालका एकीकृत समाजवादी पार्टी रोजेका नेता तीर्थराज रोकायाले अब पार्टी नयाँ तरिकाले अगाडी बढ्ने बताए । पार्टी मात्रै नभइ देशलाई नै बर्बादीतर्फ लिने ओलीविरुद्ध लाग्ने समेत बताए ।
पत्रकार भेटघाट कार्यक्रममा उक्त पार्टीसँग ३६ प्रतिशित जिल्ला कमिटि रहेको दावी पनि गरिएको थियो । जिल्ला कमिटि तयारी अवस्थामा रहेको र आगामी असोज ११ गते त्यसको घोषणा गर्ने जानकारी दिए ।