काठमाडौं - नेकपा माओवादी र एमाले मिलेपछि गएको चुनावमा इतिहासमै कम्युनिष्ट शक्तिशाली बने । सम्भवतः यो ऐतिहासिक जित नेपालका कम्युनिष्टका लागि पहिलो र कम्तीमा आगामी केही दशकका लागि अन्तिम पनि हुन सक्छ ।
झण्डै दुई तिहाई बहुमतको सरकार चलाउन नसकेर तत्कालिन प्रधानमन्त्री तथा त्यतिबेलाका नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरे । उनले एकपटक होइन, दुई पटक नै संसद विघटन गरे । यसले नेकपा मात्रै फुटेन । ओलीकै अध्यक्षतामा रहेको एमाले समेत फुट्यो ।
वरिष्ठ नेता माधव कुमार नेपालल एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी बनाएका छन् । जुन अहिले संघीय संसदको चौथो ठूलो पार्टी बनेको छ । कर्णालीमा नेकपा समाजवादी सत्तारुढ पार्टी थियो र छ नै । केन्द्रीय सत्तामा पनि समाजवादी निर्णायक जस्तै छ ।
पार्टी फुटेपनि एमालेका नेता कार्यकर्ता अझै ढुलमुलमा छन् । कर्णालीमा पनि यसको प्रभाव देखिन्छ नै । माधव नेपाल नेतृत्वको समाजवादीले कुनै बेला ओलीविरुद्ध सडक तताएको थियो । तर अहिले ओलीले नै माधव नेपाल विरुद्ध सडक र सदनमा आन्दोलन चर्काएका छन् ।
यतिबेला ओली नेतृत्वको एमाले पार्टी फुट्यो भन्दै आक्रोशित छ । खासगरी हिजो आफैले ल्याएको अध्यादेश फिर्ता गर्न बाध्य पारेका प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले नै नयाँ अध्यादेश ल्याएर एमाले फुटाएपछि ओली आक्रान्त भएका हुन् ।
यसबाटै थाहा पाउन सकिन्छ, गएको चुनावमा सबैभन्दा ठूलो दल बनेको एमालेको हालत अब कस्तो हुन्छ भनेर ? जबकी २०६४ सालको पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो दल बनेको तत्कालिन नेकपा माओवादी फुटेपछि २०७० सालको चुनावमा तेस्रो बनेको थियो ।
अब कर्णालीमा कुन पार्टी शक्तिशाली बन्छ ?
गएको चुनावमा मात्रै ६ सिट जितेको नेपाली कांग्रेस यतिबेला कर्णालीको बागडोर सम्हाल्दैछ । तीन वर्षको प्रतिपक्षी दलको कुर्सीमा सीमित रहेको कांग्रेसले सायदैले सोचेको कर्णाली प्रदेश सरकारको नेतृत्वमा पुग्दैछ । जसका लागि अझै एक महिना पर्खाईकै विषय छ ।
कांग्रेस हविगत अवस्थाबाट कर्णालीको सत्ता चलाउने स्थितीमा पुगिसक्यो । तर सबैभन्दा ठूलो दल, एक्लै सरकार चलाउन सक्ने बहुमत भएर पनि नेकपा एमाले कर्णालीको नयाँ प्रतिपक्षी बनिरहेको छ ।
यो उसका लागि इतिहासमै सबैभन्दा खराब राजनीति हो । केन्द्रीय राजनीति र सहमतिले ठूलो दल भएपनि माओवादी केन्द्रको नेतृत्वमा तीन वर्ष पार्टी एकताकै हैसियतले सत्तामा बसेको एमाले पछिल्लो ६ महिनायता प्रतिपक्षी दल बनेर सदनमा कुर्लिरहेकै देखिन्छ ।
त्यसमाथि फ्लोर क्रस घटनाक्रमले विभाजनसम्म पुगेपछि अब कर्णालीमा अहिलेको बहुमत एमालेले आगामी चुनावमा पाउँछ भन्नेमा शंका मात्रै छैन, सम्भावना पनि देखिदैन । गएको चुनावमा तेस्रो तथा प्रतिपक्षी दल बनेको कांग्रेसले सरकार चलाउने अवस्था आउँदा माओवादी सत्ता सहयात्री भएपनि बहुमतसम्पन्न एमाले भने प्रतिपक्षमै छ । यसै घटनाले पार्टी फुटेपछि त्यसको क्षति एमालेले आगामी चुनावमा व्यहोर्ने निश्चित जस्तै छ ।
माओवादी र नेपाली कांग्रेस आफ्नो राजनीतिक विरासत तथा एजेन्डाका कारण आगामी चुनावमा सम्माजनक मत ल्याउने रणनीतिमा देखिएपनि आफ्नै प्रतिगमनका कारण एमालेलाई त्यो अवसर पनि मिल्न कठिन छ ।
यसले पनि कर्णालीमा अब वर्तमान शक्तिशाली एमाले शून्य बराबरकै हैसियतमा सीमित हुन बाध्य हुनेछ । जुन उसका लागि प्रतिपक्षी दलको कुर्सी बाहेक सत्ता यामलाल कँडेलकै मुख्यमन्त्री सपनाका रुपमा सीमित हुनेछ ।
यता गएको चुनावमा मुश्किलले केही सिट जितेका कांग्रेस, माओवादीले आगामी चुनावमा एमाले फुटलाई राम्रोसँग उपयोग गर्नेछन् भने उनीहरुकै साथ सहयोग र कृपाले माधव नेपालले पनि आगामी चुनावमा आफनो पार्टीको जमानत जोगाउन सक्नेछन् ।