केही समय अगाडि भारतीय एसएसबीद्वारा तुइन काटिएको कारण महाकाली नदीमा खसेर एक नेपाली युवाको मृत्युको समाचार निकै छायो । भारतीय एसएसबीका जवानहरुले फलामे आरा बोकेर हिड्ने तथा जथाभावी बाँधिएका तुइन काट्दै हिड्ने त्यस क्षेत्रको लागि कुनै नौलो घटना होइन । तुइन काटेर एसएसबीका जवान गए पछि फेरी तुइन बाँधेर यात्रा गर्न त्यहाँका जनता बाध्य भएको दशकौ भइसकेको छ ।
ब्याँस गाँउपालिकाका जनताहरुको बाध्यताका कथाहरु भने कसैले कतै लेखिदिएन । आफ्नै देशमा बसेर आफ्नो गाउँबाट सदरमुकाम आउन अनधिकृत रुपमा महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गरेर झुलाघाटबाट फेरी नेपाल प्रवेश गरेर सदरमुकाम पुग्नु पर्ने बाध्यता छ । सधै यसरी नै बाँधिएका तुइन काटिने भए पनि कोही तुइनमा यात्रा गरिरहेको समयमा तुइन काटिदैनथ्यो ।
तुइनबाट भारतीय सीमामा प्रवेश गरे पछि एसएसबीका जवानले पिट्दथे । तर त्यस दिनको दुखद घटनाले तुइन तर्दै गरेका जयसिंह धामी महाकालीमा बेपत्ता हुन पुगे । हुन सक्छ तुइनमा कोही भएको देख्दै देखेनन् वा सधैको अटेरीले एसएसबीका जवान बढी नै उग्र भएका पनि हुन सक्छन् । जे जस्तो कारण भए पनि मानिसको मृत्यु नै हुने गरि तुइन काटिदिनु भने भारतीय एसएसबीको ठूलो गल्ती थियो ।
यी त भए पक्की पुल वा झोलुङ्गे पुल नहुँदा महाकाली नदी तर्नु पर्ने बाध्यताका कुरा । तर महाकाली नदीको झुलाघाटमा पक्की पुलको माग भएको धेरै समय भए पनि नेपाल सरकारबाट पक्की पुल बनाइदिने केवल आश्वासन बाहेक त्यहाँका जनताले अरु केही पाएनन् । साथै ७ नं प्रदेशका बिभिन्न ग्रामिण क्षेत्रबाट सदरमुकाम आउन समेत तुइन तथा झोलुङ्गे पुलहरु बनाइएका छैनन् । जसले गर्दा भारतीय सीमा प्रवेश गरेर मात्र सदरमुकाम आउन बाध्य छन् ।
यदि झुलाघाटमा गाडी नै गुडाउन मिल्ने पक्की पुल हुने भए नेपाल तर्फ भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या निके बढ्ने थिए । जसले गर्दा समग्र ७ नं प्रदेशको नै आर्थिक समृद्धीको आधारहरु तैयार हुन्थे । तर अफसोस देशको पाँच पटक सम्म प्रधानमन्त्री बनेका हालका प्रधानमन्त्री नै यस क्षेत्रका भए पनि सुदुर पश्चिम प्रदेश विकासको नाममा निकै पछाडि रहेको छ ।
अंग्रेजको समयमा इष्ट इन्डिया कम्पनीले बनाइदिएको महाकाली नदीको नेपाल भारत सीमाको झुलाघाटको पुल बेला बेलामा भारतीय पक्षले मर्मत गरिरहे पनि नेपाल सरकारले कुनै पक्की पुल बनाउने योजना नै बनाएन । दुइ दशकदेखि निरन्तर दवाव दिदै आए पनि अझै सम्म कुनै पक्की पुल बनाउने योजनाको सुरुवात भएकै छैन । महाकालीको वारी र पारी झुलाघाटको मात्र सम्बन्ध छैन । यहाँ त समान संस्कृति मात्र होइन रोजीरोटीको लागी पारी पुग्नेहरु पनि मनग्य छ । साथै वारी र पारी रोटी र बेटीको सम्बन्ध पनि छ । कतिपयको पारी ससुराली छ भने कतिपयको वारी ससुराली छ ।
तर यि सम्बन्धहरु भन्दा माथि दुइ देशको अन्तराष्ट्रिय सीमा हुनुको कारणले भारतीय सुरक्षाकर्मीबाट हप्की र दण्डा खानु पनि सामान्य झै हुने गर्दछ । झुलाघाट भन्दा उत्तरमा रहेका मालघाट तथा अन्यत्रबाट तुइनमा महाकाली तर्नुलाई भारतीय एसएसबीले अनधिकृत रुपमा लिने गर्दछ र प्रवेश गर्नेलाई एसएसबीले दुख दिने गर्दछ । जसले गर्दा त्यहाँका जनता अस्थायी तुइन राख्न बाध्य हुने गर्दछ । नेपाली भूभागमा पक्की रुपले तुइनको एक छेउ बाँधिएको भए पनि भारतीय सिमामा भने रुखमा बाँधेर राखिन्थ्यो । सिमामा ड्युटीमा रहेका एसएसबीेले यसरी बाँधिएका तुइन काट्ने गर्दथे ।

झुलाघाटको इतिहास हेर्दा निकै रोचक लाग्छ । महाकाली नदी जतिसुकै भयावह भए पनि यो ठाउँमा पुगेपछि निकै साँघुरिएको थियो । यति साँघुरो थियो कि मानिसहरु जुवा बाँधिएको गोरु लिएर यस स्थानबाट महाकाली तर्दथे । जसले गर्दा यो ठाउँलाई जुवाघाट भन्ने गर्दथे । भारतमा आएका अंग्रेजहरुको इष्ट इन्डिया कम्पनीले यस स्थानमा झुला अर्थात झोलुङ्गे पुल राखिदिए । जसले गर्दा मानिसहरु झुलाघाट भन्न थाले । झोलुङ्गे पुल बने पछि भारत तर्फको पिथौरागढमा झुलाघाट नजिकै झुलाघाट बजार बस्यो । नेपाल तर्फ पनि झुलाघाट नै भनिने गरिन्छ ।
बहादुर शाहको पश्चिम नेपालको विजय अभियानमा गढवालसम्म सीमा पुग्दा यहि स्थानमा रहेको पिथौरागढमा गोर्खालीको किला थियो । वि.स. १८४६ मा वीर गोर्खालीहरुले बनाएको गोर्खा किला अझै पनि पिथौरागढमा ऐतिहासिक थलोको पहिचान बनाएर बसेको छ । निकै लामो समय सम्म गोर्खाली फौज रहेको हुँदा यस वरपरको क्षेत्रमा नेपालीहरुको निकै बाक्लो बस्ती नै छ । पछि इष्ट इन्डिया कम्पनीसंगको नेपालको हार भए पछि वि.स. १८७२ मंसिर १९ मा सुगौली सन्धी भए पछि भने यो किल्ला इष्ट इण्डिया कम्पनीको मातहतमा आयो र यसको नाम लण्डन फोर्ट राखियो ।
जसलाई भारत स्वतन्त्र भए पछि भने पिथौरागढ किलाको रुपमा रहेको छ । इष्ट इन्डिया कम्पनीको पिथौरागढमा प्रवेश पछि महाकाली नदीमा बि।सं। १८८६ मा यो झोलुङ्गे पुल बनाइदिएका थिए । भारतीय भाषामा झोलुङ्गे पुललाई झुला भनिने तथा नदीको साँघुरो भाग भएको हुँदा यहाँ घाट रहेको हुँदा यो झोलुङ्गे पुल तथा यो ठाउँको नाम नै झुलाघाट रहन गयो ।
पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना अन्तर्गतको ३१५ मीटर अग्लो बाँध यदि बन्यो भने यस झुलाघाट क्षेत्र नै डुवानमा पर्न सक्ने भन्ने कारणले पनि व्यापक बिरोध भइरहेको छ । हुन त कुनै पनि बाँधले केही क्षेत्र डुवानमा पर्ने भए तापनि सिङ्गो वस्ती नै डुब्ने गरि आयोजना सायद पुरा गरिदैन होला ।