जुम्ला, ‘तीजलाई खर्चिलो र भड्किलो नबनाइ शक्ति र संघर्षको आधार बनाउँदै सामाजिक सद्भावको पर्व बनाइ समृद्धिसँग जोड्नुपर्छ’ यो भनाइ हो, जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाको ।
उनले, ‘हिन्दु धर्मावलम्वी नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज हाम्रो धर्म, संस्कृति, परम्परा, स्वास्थ्य, सामाजिक मूल्य–मान्यतासँग जोडिएको’ भनिन्, ‘देश विदेशमा छरिएर रहेका नेपाली दिदी–बहिनीले तीज पर्व मनाउँदै आउनु भएको छ’ ।
यस दिन सरकारले पनि महिलाहरुलाई प्राथमिकतामा राखेर बिदा दिने गरेको छ । यसरी प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाबाट मनाइने हरितालिका तीज हिन्दु नारीले शिव पार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको पाइन्छ । ‘प्रेम, सद्भाव, आत्मियता, पूजाआजा, नाचगान एवं मिठो–मसिनो खाएर मनाइने तीज मौलिक रुपमा बनाउँदै आएको’ उपाध्यक्ष बुढाले भनिन् ।
‘फेशनका रुपमा स्थापित हुँदा दुःख लाग्छ’
यस तीजमा दिदिबहिनीहरु एक ठाउँमा जम्मा हुने, आफ्ना सुख दुःखका गीत गाउने नाच्ने, मिठोमसिनो पकाएर खाने लगायतको चलन थियो । समयको गतिसँगै समाज पनि बदलिदै गएको छ । तीजलाई गहना प्रदर्शन गर्ने, महिलाहरुले नै मन्दिरमा मदिरा सेवन गर्ने, खर्चिलो र भड्किलो गर्ने गरिरहदा मौलिकता लोभ हुँदै गएको छ । यसलाई सादा, सौम्य, सौहार्दपूर्ण बनाउँदै महिला सशक्तीकरणको अवसरका रूपमा उपयोग हुने बताइएको छ ।
चन्दननाथ नगरपालिका – १० कि लक्ष्मी शाही भन्छिन्, ‘पहिले–पहिले तीजमा महिलाको व्यथा, भोगाइ र उनीहरूका पीडा झल्काउने गरेका थियौं । सबै छोरी माइतीको माया, साथीभाइ, देशको माटो, बालापन, सासु – बुहारीको सम्बन्ध जस्ता यावत् विषयलाई गीतमार्फत पस्किने गर्ने गरेका थियौं’ उनले भनिन्, ‘पछिल्लो समयको तीज फेशनमा गएर मौलिकता लोभ हुँदै गएको छ । दर खाने नाममा मदिरा खाने गरिरहेको सुनिछ ।’
उनले, ‘म ४३ वर्षको भए । हाम्रो पालामा दर खाने भनेको घरमै पालेको भैंसीको दुध, दही, खिर, लगायतका परिकार बनाएर खाने चलन थियो ’ भनिन्, ‘तीज पर्व महिलामाथिको हिंसा, विभेद, दुर्व्यवहार, सदियौंदेखि भोग्दै आइरहेको अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्ने दिन हो । अब महिलाले सशक्तीकरणको अवसरका रुपमा लिएर समाजिक रुपान्तरण र विकासमा जोड्नुपर्छ’ ।