काठमाडौँ : झ्याउरे गीतमा आफ्नै ब्राण्ड बनाएका गायक सुनिल गिरीले आपतमा ब्रेक दिइएका मोडल हुन्, पल शाह । ‘को होला त्यो ?’ गीतको भिडियो बनाउँदै गर्दा पुरुष मोडल सुटिङ स्पटमा नपुगेपछि सुनिलले पललाई मौका दिएका थिए । म्युजिक भिडियो सम्पादन गर्ने फुच्चे केटो पल त्यही गीतको भिडियोबाट वर्तमान म्युजिक भिडियो क्षेत्रका बादशाहका रुपमा व्यस्तता बढाएका छन् । उनको व्यस्तता यति धेरै छ कि नेपाली फिल्मका वर्तमान सुपरस्टार अनमोल केसी पनि उनका अगाडि अल्छीलाग्दो छन् । त्यही भएर पल कहिले पूर्वको इलाम त कहिले पश्चिमको हुम्ला सिमकोटसम्म पुगेका देखिन्छन् ।
उनै म्युजिक भिडियोका बादशाह पललाई पछिल्लो समय नचिन्ने कमै होलान् । सामान्य परिवार जन्मेका हुन्, पल । भिडियो सम्पादन र टेलिभिजन कार्यक्रमको प्रस्तोताबाट उनले म्युजिक भिडियो अचानक यात्रा सुरु गरेका हुन् । पहिलो म्युजिक भिडियो को होला त्यो ? गीतको भिडियो हेर्दा पनि पलको फुच्चेपना स्पष्ट देख्न सकिन्छ ।
विकास आचार्यको चर्चित फिल्म श्रृंखला ‘नाई नभन्नु ल ४’ बाट पलले नेपाली चलचित्रमा प्रवेश गरेका हुन् । यो फिल्मका स्क्रिप्ट राइटर सामिप्यराज तिमिल्सेनाको विशेष रोजाईमा पलले फिल्ममा मौका पाएका हुन् । तर यो फिल्मले विकास आचार्यको फिल्म श्रृंखलालाई मात्रै निरन्तरता दिलायो । सफलता भने त्यति दिन सकेन । जति सफल यो श्रृंखलाका सुरुवाती फिल्महरु थिए ।
धेरै यो फिल्ममा पललाई नायकका रुपमा देखे । तर बजारले उनलाई नायकमा पत्याएन । केही रोमान्टिक प्रेम कथा भएका चलचित्रमा उनी सम्भावनायुक्त पात्र थिए । तर पैसा लगानी गरिहाल्नुपर्ने फेस र भेष उनमा देखिएन ।
पलकै चरित्रलाई प्रेमकथामा बदल्न सक्ने खुबी भएका सुदर्शन थापाले उनलाई अर्को अवसर दिलाए । उसो त त्यतिबेला कुनै पनि फिल्ममा अफर नआउदा आफु डिप्रेसनमा पुग्ने चिन्ता पलले देखिरहकै थिए । केही भोगिरहेकै थिए ।
ठीक त्यतिबेला सुदर्शनले पूजा शर्माको अपोजिटमा पललाई ‘म यस्तो गीत गाउँछु’ चलचित्रमा खेलाउने घोषणा गरिदिए । जुन घोषणा दुबईमा गरिएको थियो । यो फिल्म पाएपछि पल धेरै खुशी भए । जुन खुशी पहिलो फिल्म साइन गर्दा पनि पलले महसुस गर्न सकेका थिएनन् ।
फिल्मले राम्रै छाप छाड्यो । पल चक्लेटी नायकमा रुपमा स्थापित हुन यो फिल्मले धेरै सहयोग गरेको देखियो । यसबाट निर्माता तथा निर्देशक सुदर्शन थापा सुरक्षित त भए । तर धेरै कमाई गर्न पनि उनी सफल भएनन् ।
तर एउटा सत्य के चाँही देखियो भने पल सुदर्शनको फिल्मपछि आफ्नो करियरको पछाडि फर्किनु परेन । त्यसपछि पल सफलतासंगै हिँडे । भन्छन्, ‘अहिले म जहाँ छु । यो सबै दर्शकले गर्दा भएको हो । त्यसैले म दर्शकलाई भगवानको दर्जा दिने गर्छु ।’ पलले यसो भनिरहदा यसको आधाभन्दा धेरै क्रेडिट सुदर्शनलाई पनि जान्छ । किनकी रोमान्टिक फिल्म र पल जस्ता चरित्रलाई सुदर्शनले मात्रै न्याय गर्ने गरेको नेपाली फिल्ममा देखिन्छ ।
उसो त पल सामाजिक सेवामा पनि रुचि राख्छन् । उनी बेला बेला गरीब, असहाय र समस्यामा परेकालाई राहत दिएर चर्चामा आउँछन् । उनी अहिले गरिबी दिन दुखीका सहारा भएका नायकका रुपमा पनि परिचित छन् । उनी सहयोगको लागि देशभर नपुगेको बिरेलै होला । जति उनी आफ्नो मुस्कान र अभिनयले दर्शकको मुटुमा बसेका छन् । त्यति नै दयालु स्वभाव र कामले पनि चिनिएका छन् ।
पलले म्युजिक भिडियो र फिल्म खेलेर आफ्नो छुटै पहिचान स्थापित गरेका छन् । केहि बर्ष अघि कालिकोटमा पहिरो जादा उनी त्यहाँ सरकार भन्दा अघि राहत लिएर पुगेका थिए । यसले पनि पलमा कर्णालीको कनेक्सन देखाउँछ । धेरै कलाकारले कालिकोटको पीडा बुझ्नै नसकेका बेला कोरोना महामारीमै पल राहत सामग्री लिएर त्यहाँ पुगेका थिए । त्यसपछि सिन्धुपाल्चोकमा बाढी जाँदा पनि उनी राहत लिएर पुगेका थिए ।
उनी केहि दिन अघि कर्णालीको हुम्ला पुगेका देखिन्छन् । उनलाई सम्मानसहित स्वागत गरिएको थियो । उनीसंगै गायक दुर्गेश थापाको पुरै परिवार पनि हुम्ला पुगेको देखिन्छ ।
उनीहरु हुम्ला पुगेर कर्णालीप्रतिको माया बाँडिरहेका छन् । माया बाँड्दै गरेका तस्बिर पनि पलको फेसबुकमा देख्न सकिन्छ । पल म्युजिक भिडियो सुटिङका लागि हुम्ला पुगेको चर्चा पनि चलिरहेको छ । यसबारे उनले वास्तविक खुलाएका छैनन ।
हुम्ला सिमकोटको पृष्ठभूमि राखेर फोटो खिचाउँदै पलले फेसबुकमा लेखेका छन्, ‘लाखौं हजारौ मुस्कान मध्ये एक मुस्कान हुम्ला ।’
उनी पछिल्लो समय आफुले कमाएको २५ प्रतिशत समाजसेवा गरिरहेको बताइरहेका छन् । म्युजिक भिडियोका बादशाह जस्ता देखिने पल महंगो पारिश्रमिक लिन्छन् । त्यसैबाट घर किनेका छन् । गाडी खरिद गरेका छन् । देश विदेश घुमिरहेका छन् । अनि त्यसको केही हिस्सा समाजसेवामा पनि लगाइरहेका छन् ।
त्यसमा पनि कर्णालीलाई मन र मष्तिष्कमा राखेर समाजसेवा गर्नु पलका लागि मात्रै होइन, उनको कर्णालीबासी फ्यानका लागि पनि खुशीको कुरा हो । पलको कर्णाली कनेक्सनको यो सुरुवात मात्रै होइन, झन् बढ्ने संकेत कर्णालीको सुन्दरताले पनि देखाउँछ ।