काठमाडौँ : एमाले र माओवादीको एकताले जितेको चुनावबाट कर्णाली प्रदेश सरकार गठन भयो । मुख्यमन्त्रीको कुर्सीमा बस्ने सौभाग्य पाए, कालिकोटका महेन्द्रबहादुर शाहीले । तत्कालिन समयमा बैद्य माओवादीमा लागेका कारण कर्णालीका भिजनरी नेता जुम्लाका नरेश भण्डारीलाई बाइपास गरेर जनार्दन शर्मा र शक्ति बस्नेतले महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाएका हुन् ।
आफैले बनाएका मुख्यमन्त्रीबाट यतिबेला जनार्दन र शक्ति दुवै जना सन्तुष्ट छैनन् । संघीय सरकारमा अर्थमन्त्री बनेका शर्मा निकट स्रोतका अनुसार जिम्मेवारी र सत्ता अनुसार खरो रुपमा एक्सनमा जान नसकेका कारण कर्णालीमा माओवादीको प्रभाव घट्दै गएकोमा कर्णालीका टावर लिडर मुख्यमन्त्रीबाट असन्तुष्ट देखिएका हुन् । उसो त यस विषयमा पछिल्ला केही घटनाक्रमले पनि मुख्यमन्त्रीको टिठलाग्दो अवस्थाबारे प्रस्ट पार्छ ।
जादुयी रुपमा तत्कालिन माधव नेपालका सांसदबाट फ्लोर क्रस गराएर माओवादीका नेताले मुख्यमन्त्रीको सरकार जोगाईदिए । तर त्यसपछि लगत्तै भौतिकमन्त्री अम्मर थापा विवादमा परे । यस विषयमा मुखयमन्त्री अलिकति पनि प्रमुख नेताहरुसँग सल्लाह गरेर एक्सनन लिएनन् ।
पछिल्लो एक महिनायता मुख्यमन्त्रीकै गृहजिल्ला कालिकोटबाट कृषिमन्त्री बनेका कुर्मराज शाहीको अश्लील हर्कत मिडिया र सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यसमा पनि मुख्यमन्त्री शाही बोलेनन् । प्रदेश सरकारलाई यति ठूलो बदनामी बनाउने बलात्कारको आरोप लागेका तर अश्लीलतामा रमाउने कुर्मराजमाथि पनि मुख्यमन्त्री शाही निरीह मात्रै होइन, बदनाम सरकारका नाइकेका रुपमा स्थपित भए । यसमा पनि उनले गम्भीर रुपमा शीर्ष र कर्णालीका मुख्य नेताहरुसँग परामर्श गरेनन् । बदनामीको मुकदर्शक बने । यसमा उनी मात्रै होइन, सिंगो माओवादी नेतृत्वको सरकार नै बदनामको शिकार भयो ।
त्यो अरु कारण होइन, मुख्यमन्त्री शाही आफ्नो जिम्मेवारी अनुसार एक्सनमा जानै सकेनन् । मन्त्रीकै सेक्स भिडियो बाहिरिएपछि काठमाडौँमा समेत कर्णालीका मन्त्रीको इमेज बिग्रिएको छ । उनीहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छ । कर्णालीमा मन्त्री होइन, राजनीतिको फोहोरी खेलमा मन्त्री बनेपछि गरिने नराम्रा र बदनाम हर्कतले कर्णालीका नागरिक पनि भित्रैदेखि सरकारप्रति चरम असन्तुष्टि पोखिरहेका छन् ।
तर पनि मुख्यमन्त्री बदनाम खेपिरहन बाध्य भए । न उनले यसबारे गम्भीर रुपमा सत्ता साझेदार दल, आफ्नै नेतासँग परामर्श गरे । न त जनतालाई देखिने गरी कुनै कदम चाल्न सके । यद्यपी उनले नेताहरुसँग औपचारिक पूरा गरेका हुन् । तर त्यो एक मुख्यमन्त्री, नेता र सबैको अभिभावकीय दृष्टिकोणले होइन, दास प्रवृत्तिको नेताको स्तरमा सोधिने प्रक्रिया मात्रै पूरा गरेका थिए ।
सत्ता साझेदार दलकै एक नेताले कर्णाली खबरसँग भने, ‘हामीले पछिल्ला घटनाक्रमलाई नियालेर मुख्यमन्त्रीबाट केही कदमको आश गरेका थियौँ । कम्तीमा प्रक्रियाकै लागि देखाउनैका लागि पनि केही गर्नुहुन्छ भन्ने आश गरेका थियौँ । तर माखो मार्नु भएन । हामी नै सत्ता चलाइरहेका बेला, सबै गतिविधि थाहा पाइरहेका बेला कर्णाली प्रदेश सरकार आखिर कताबाट कसले चलाइरहेको छ ? पत्तै नहुने भयो ।’
केन्द्रसँग कर्णालीको कनेक्सन
केन्द्रमा अहिले नेपाली कांग्रेस नेतृत्वको सरकार छ । प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा छन् । नेकपा माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि सरकारमा सामेल छ । तर केन्द्र्रीय सरकार हरेक मिनेट छलफल अनुसार चलिरहेको छ । देउवाले सत्ता साझेदार दल र नेताहरुसँग परामर्श गरेरै सरकार चलाइरहेका छन् ।
कर्णालीमा पनि सहमतिमै सरकार चलिरहेको छ । जसको नेतृत्व माओवादीले गरिरहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । तर केन्द्रीय सरकार र कर्णाली प्रदेश सरकारको समन्वय शैली भने आकाश पातलको फरक छ ।
यामलाल कँडेलले एक महिनासम्म कर्णाली प्रदेशसभाको बैठक बन्धक बनाउने अवस्था ल्याई दिएका थिए । त्यतिबेला पनि कर्णाली प्रदेश सरकार रमिते बन्यो । त्यतिबेलादेखिको रमिते सरकार अहिले पनि रमितेमै सीमित छ ।
गैरजिम्मेवार र रहस्यमयी मुख्यमन्त्री
अपराधिक काण्डै काण्डबीच ओलीले केन्द्रीय सत्ता चलाएजसरी कर्णालीमा मुख्यमन्त्रीले सरकार बचाइरहेका छन् । मुख्यमन्त्री नैतिकता गुमाएर कुर्सीमा विराजमान भइरहेका छन् । यामलाल कँडेलकै शब्दमा अपराधीहरुको सरकारजस्तै भइरहेका बेला संरक्षणमा मुख्यमन्त्री आफै लागेका छन् । यो एक नेता र अरुका लागि प्रेरणाको स्रोत हुनुपर्ने मुख्यमन्त्रीको चरम लापरबाही र नैतिक पतनको स्थिती हो ।
नागरिकप्रति यति धेरै गैरजिम्मेवार रुपमा प्रस्तुत हुने मुख्यमन्त्रीको आखिरी सपना के हो ? आखिरी योजना के हो ? जनतालाई उनले कुन स्तरको विकास दिने योजना बनाएका हुन् ? मुख्यमन्त्री बन्नु अघि र पछि उनले दिएका यसबारेका धेरै नीति तथा कार्यक्रम उनको पछिल्लो रमिते व्यवहारमा कुहिरोमा हराएका कागजस्तै बनेका छन् ।
त्यतिमात्रै होइनन्, उनले मन्त्रीसँग कार्यसम्पाद सम्झौता गरेका छन् । केन्द्रीय रुपमै असफल मोडल पछ्याएर उनले देखाउने खोजेको काम कस्तो हो ? न्युनतम नैतिकता नभएका मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेर कस्तो काम उनी जनतालाई देखाउन चाहन्छन् ? यसबारे मुख्यमन्त्री र कर्णाली प्रदेशका मन्त्रीबाट कुनै छनक देखिएको छैन ।
कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी र विमला केसीले केही राम्रा काम गरिरहेको संकेत देखाएका थिए । तर उनीहरु भागबण्डामा मन्त्री बन्ने र बनाउने प्रवृत्तिको शिकार भए । मिडियासँग कहिल्यै खुलेर नबोलने, बोलेपनि आफ्नो भिजन देखाउन नसक्ने र मुख्यमन्त्रीको कुर्सीबाट काम गर्नुपर्नेमा मौन बसेरै दिन कटाउने महेन्द्र शाहीको शैली हेर्दा आखिर कर्णाली प्रदेश सरकार कसले चलाइरहेको छ ? भन्ने प्रश्न उब्जिन्छ ।
प्रचण्ड, जनार्दन शर्मा र शक्ति बस्नेतले महेन्द्र शाहीलाई कर्णालीको ड्राइभिङ सिटमा राखेर आफैले सरकार चलाइरहेका हुन् वा त्यो पनि उनीहरुको नियन्त्रण बाहिर रहेका बेला कुनै खलासीले सरकारको गाडी हाकिरहेको कर्णाली जनता रनभुल्लमा छन् ।