काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ । अपराह्न चार बजे बालुवाटारमा बस्ने बैठकलाई धेरै नेताहरुले निर्णायक बनाउने भनेका छन ।
अध्यादेश ल्याएपछि पार्टी र सरकारमा आलोचित बनेका प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल गर्ने योजना छ । यसका लागि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता मावध नेपालले छुट्टाछुट्टै छलफल थालेका छन ।
यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै, वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ ।
तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड(नेपाल पक्षले पहिले सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । उनीहरूले ओलीको एकलौटी कार्यशैलीले सरकार अलोकप्रिय भएको भन्दै बाटो खुल्ला गरिदिन दबाब दिँदै आएका छन् ।
पूरा होला त बामदेवको प्रधानमन्त्री सपना ?
प्रतिनिधिसभामा हार व्यहोेरेर पनि सांसदविहिन रहेका बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सपना छ । उनले सपनामा पनि नसोचेको कुरा ओलीले विपनामै साकार पार्छु भनेपछि बामदेव पुपुल्किएका छन । नेकपा सचिवालयको बहुमत सदस्यले प्रधानमन्त्री ओलीको विकल्प खोजेपछि ओलीले नै बामदेवलाई अघि सारेका हुन ।
जुन नेकपाको गुट र सत्तारुढ पार्टीको कार्यदिशा फेरिने अवस्थामा छ । शनिबार बेलुकी बालुवाटारमा प्रचण्ड र माधव नेपालले स्वीकार गरेको खण्डमा बामदेव प्रधानमन्त्री बन्ने सम्भावना छ । तर ओली स्वयंमले बामदेवलाई आफ्नो गुटमा तान्न र सत्ता लम्ब्यान मात्रै उनलाई प्रधानमन्त्रीमा अघि सारेको तर्क पनि देखिदै आएका छन ।
जुन अस्वभाविक होइन । सत्ता सम्हालेको दुई बर्षसम्म बेवास्ता गर्दै आएका बामदेवलाई ओलीले अहिले एकाएक प्रधानमन्त्रीको सपना देखाउनु आफ्नो अल्पमट गुटलाई पुनः बहुमतमा पुर्याउने प्रपञ्च मात्रै भएको पनि नेकपा नेताहरुको टिपप्णी छ ।
माधव नेपाललाई सम्झाउने प्रयास सफल हुन नसकेपछि ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड खेलेका हुन । जुन सफल हुन्छ या हुदैन ? आज रातीसम्म कुर्नैपर्ने हुन्छ ।