काठमाडौँ : कर्णाली सुन्दरताको अर्को नाम हो । जहाँका सुन्दर दृश्य एउटा मात्रै होइन, अनेक छन् । तर ती दृश्य राम्रोसँग आफ्नो क्यामेरा तथा मोबाइलमा कैद गर्न सक्ने थोरै हुन्छन् । व्यावसायिक फोटो पत्रकारको नजरमा पनि कर्णालीका दृश्य कमै खिचिएका छन् ।
जति फोटो र भिडियो जाजरकोटमा बसेर मल्टिमिडिया काम गरिरहेका सुरेन्द्र सुमनले खिचेका छन् । सुमनले कर्णाली खबरलाई उपलब्ध गराएका केही तस्बिर हेर्दा लाग्छ, कर्णालीको सुन्दरता अपार छ । हेर्नुपर्ने, देख्नुपर्ने अझै कर्णालीलाई बुझ्नुपर्ने कुरा धेरै छन् ।
लामो समय पत्रकारिता गरेका व्यावसायिक पत्रकार हुन्, सुरेन्द्र सुमन । उनको वास्तविक नाम भने सुरेन्द्र सिंह हो । जसको घर जाजरकोटको बारेकोटमा पर्छ । अहिले पनि उनी बारेकोट-जाजरकोट गरिरहन्छन् । सरकारी जागिरे उनी कुनै बेला कान्तिपुर टेलिभिजनमा समेत काम गर्थे । रेडियो जाजरकोटबाट पत्रकारिता थालेका उनले काठमाडौँका आधा दर्जन टेलिभिजनमा समेत काम गरे । त्यसपछि जाजरकोटमा उनले केही दैनिक पत्रिका समेत चलाएर बसे ।
दशक बढी लामो समय पत्रकारिता गरेका उनी अहिले मल्टिमिडियाको युगमा व्यावसायिक युट्युबरका रुपमा स्थापित छन् । सम्भवतः युटयुबको प्लार्टफर्ममा कर्णालीका एक मात्रै व्यावसायिक र क्षमतावान स्टोरी टेलरका रुपमा सुमनले आफूलाई उभ्याएका छन् ।
यही पेरिफेरीमा उनी कहिले कर्णालीका अग्ला पहाडमा पुग्छन् । कहिले हिमाल अगाडि बसेर त्यसको सुन्दरता आफ्नो क्यामेरामा कैद गर्छन् । कहिले लेकमा भेडा बथानको फोटो खिच्दा उनी गाउँघरको दैनिकी खिच्न छुटाउँदैनन् ।
जाजरकोटमा बसेर कर्णालीको कथा, व्यथा र सुन्दरता खिचिरहेका उनी आधुनिक पुस्ताको काममा रमाउँछन् । युट्युबबाटै भएपनि उनले पत्रकारिता कर्म छाडेका छैनन ।
माध्यम भने अवश्य फेरेका छन् । रुचिले पत्रकारिता थालेर पनि निरन्तरताबाट केही पर बसेका उनी कर्णालीका सारा कथा र सुन्दरता भने दैनिक पस्किरहेका छन् ।
सुमनको फोटोमा कर्णालीका मानिसहरुको बिम्ब छ । भुईमान्छेहरुको वास्तविकता छ । गोठालोदेखि गाउँले जीवनसम्मको परिवेश छ । उनले सुन्दरतालाई मात्रै लेन्समा राखेमा छैनन । गाउँले जीवनका कथालाई पनि आफ्नो क्यामेरामा सुरक्षित गरेका छन् ।
(नोट : यी सबै फोटो सुरेन्द्र सुमनले खिचेका हुन् । फोटोको सर्वाधिकार सुमनमा छ - सम्पादक)