सिमकोट : उत्तरी क्षेत्रका हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरुको सरकारले गठन गरेको सीमा अध्ययन समितिको टोली हुम्ला हुम्ला पुगेको छ । सरकारले दिएको जिम्मेवारी पुरा गर्न टोली सीमास्तम्भको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली हुम्ला पुगेको हो ।
सीमा अध्ययन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव आचार्यका अनुसार समितिका सदस्यहरु आज नेपालगंजबाट सिमकोट आएको बताए ।
उनले सिमकोट आइपुगेको र आजै समितिले हुम्लाका जनप्रतिनिधि, राजनीति दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने र सुझाव संकलन गर्ने बताए । उनीहरु आज सिमकोटमै बस्नेछ ।भदौ २७ गते बिहानका लागि लाप्चातर्फ समिति लाग्नेछ ।
केही दिन अगाडी सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन टोली गठन गरेको थियो । सरकारले तीन सदस्यीय टोली गठन गरेपनि उनीहरुको टोलीमा सात जना सदस्यहरु रहेको बताइएको छ ।
समितिका सदस्यहरुमा उमेशराज जोसी, किशोर कुमार श्रेष्ठ, प्रदिप कुमार पाल, शुशिल डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् । जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागीता रहेको छ । भदौ २७ गते टोली लाप्चातर्फ लाग्नेछ ।
समितिले नेपाल र चीन बिचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमास्तम्भमा पुग्ने तयारी गरेको छ । दुई देशको सिमा क्षेत्र लोलुङ जोङमा चिनीयाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको छ । त्यो लगायत हिल्सा क्षेत्रका सीमास्तम्भका बारेमा पनि कुरा उठाउने बताइएको छ ।