फाइल फोटो
भादगाउँ : भक्तपुरका सफल व्यवसायी विश्वराम कवाँले आफ्नो जीवनीमा आधारित पुस्तक ‘मेरो जीवन यात्रा’ प्रकाशन गरेका छन् । पुस्तकमा लेखकले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका विभिन्न पक्षबारेमा बयान गरेका छन् । पुस्तक ६ खण्डमा विभाजित छ । पारिवारिक जीवन र विश्वराम कवाँ, खेलकुदमा विश्वराम कवाँ, शिक्षामा विश्वराम कवाँ, भक्तपुर काण्ड र विश्वराम कवाँ, सामाजिक कार्य र विश्वराम कवाँ तथा व्यावसायिक यात्रा र विश्वराम कवाँ गरी पुस्तक ६ भागमा विभाजित छन् ।
सुरुमा शिक्षण पेसा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित व्यवसायीमा गनिन्छन् । शिक्षण पेसाबाट सेवा निवृत भएपछि उनले व्यावसायिक जीवन सुरु गरेका थिए । योबीचमा उनी खेलकुद क्षेत्रमा पनि सक्रिय बने । साथै उनी समाजसेवामा पनि सक्रिय बने । पुस्तकमा उनले आफ्ना जीवनका यी नै पक्षका बारेमा चर्चा गरेका छन् ।
पुस्तकमा कवाँको बारेमा विभिन्न क्षेत्रका नौ जना लेखकका लेख पनि समावेश गरिएको छ । पुस्तकमा कवाँको खेलकुद जीवनबारे रवीन्द्र खर्बुजा, शिक्षण पेसाको बारेमा डा किशोर हाकु दुवाल, सामाजिक कार्यको बारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवाँ, रामगोपाल कर्माचार्यलगायतले लेखेका लेख समावेश गरिएको छ ।
पुस्तकको आज विमोचन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको जीवनमा आधारित पुस्तक समाजका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । भक्तपुर नगरपालिका–७ मा जन्मेका कवाँ हाल ६१ वर्षका भए । लेखक कवाँले पुस्तक विक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक सङ्घलाई सहयोगार्थ प्रदान गर्ने जानकारी दिए । पुस्तक १४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए । विमोचन समारोहमा विभिन्न व्यक्तित्वले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए । रासस