(पुुनको सामाजिक सञ्जालबाट लिएर सम्पादनरहित प्रकाशित उनको भोगाइ हो -सम्पादक)
मैले बिस्तारै बिस्तारै आफ्नो जीवनी नै लेख्ने निर्णय गरी सकें। सायद ३ बर्ष जति लाग्ला । तर छोटो छोटो टुक्रा भने लेख्दै जान्छु । आज अर्को टुक्रा सुन्नु होस् । यसमा मैले म अमेरिकाको सि।आई।ए अथवा पश्चिमाहरुको एजेन्ट होइन भन्ने कुरा लेख्दै छु ।
म २०४५ सालमा व्यक्तिगत प्रयासमा उतैको विश्वबिद्यालयको छात्रवृति पाएर अमेरिका पढ्न गएको थिएँ । त्यो छात्रवृति पाउन के कस्तो प्रयासहरु गरेको थिएँ भन्ने लामो कहानी छ र त्यो कहानी अर्को पटक लेखुम्ला । म अमेरिका जाने बेला सम्म नेपालमा पंचायती व्यवस्था नै थियो । म अमेरिकामा पढेर २०४९ सालको भाद्र महिनामा नेपाल फर्केको थिएँ । नेपाल आउनु भन्दा पहिले देखि नै नेपालमा जागिर नखाने मेरो दृढ सोचाई थियो किन भने नेपालको जागिर मैले शिक्षकको रुपमा २०३० साल देखि २०४४ साल सम्म खाई सकेको थिएँ । त्यसैले समय बिताउन केहि समयको लागि भनेर आफ्नै गाउँ नाङ्गी म्याग्दीमा गएर समाज सेवाको काममा लागें र त्यहीं नै ब्यस्त भएँ ।
म आफनो गाउँमा दुइ तीन बर्ष बसि सके पछि म्याग्दीका केहि मान्छेहरुले मलाई शंका गर्न थालेछन । “अमेरिका बाट पढेर आएको मान्छे किन गाउँमा बसिरहेको छ भनेर केहि नेताहरुले कुरा गर्छन दाई” भनेर मलाई गाउँले साथीहरुले सुनाउंथे । शंका गर्नेहरुको अड्कल के रहेछ भने पक्कै पनि महाबीर पुन म्याग्दीमा बसेर चुनाब लड्न आएको होला भन्ने रहेछ किन भने त्यति बेला सम्म नेपालमा लोकतन्त्र आई सकेको थियो । म्याग्दी जिल्लाका राजनैतिक पार्टीहर्रुले मलाई दशैँ तिहारको बेलामा “शुभकामना” कार्ड पनि पठाउन थाले । अनि केहि चिने जानेका साथीहरुले चुनाबमा उठ्न भनेर मच्चाउन पनि थाले । तर मैले सबैलाई राजनीतिमा पटक्कै नलाग्नेकुरा भने पछि दशैँ तिहारको “शुभकामना” कार्ड पनि आउन छोड्यो । म एकोहोरो भएर बिभिन्न क्षेत्रको सामुदायिक बिकासको कामहरुमा लागें । त्यसै क्रममा सकी नसकी गाउँमा कम्प्युटर र इन्टरनेट लैजाने काम गरेको हो ।
म म्याग्दीको गाउँमा जाँदा नेपालमा माओबादीहरुको अभियान जन्मेको पनि थिएन । म्याग्दीको हाम्रो गाउँ तिर बल्ल २०५७ साल पछि मात्र माओबादीहरु आएका हुन् । उनीहरुले म्याग्दीको बिभिन्न गाउँहरुमा जनसभा गर्दा बेला बेलामा मलाई नै तोकेर “म्याग्दीमा सिआईए को एजेन्ट छिरेको छ, उ संग होसियार हुनु” भनेर भाषण पनि गर्दा रहेछन । यो कुरा गाउँले हरुले आएर मलाई सुनाउँथे । उनीहरुले म संग सम्पर्क गरेको २०५९ साल तिर हो ।
एकजना माओबादी भाइले मलाई एक लाख रुपैंया चन्दा माग गरेको माओबादी जिल्ला कमिटीको चिठी ल्याएर दियो । मैले पनि उसलाई “मैले गाउँको स्कूलमा काम गरे ता पनि कसैले मलाई तलब नदिने हुनाले र कुनै आम्दानीको स्रोत नभएको हुनाले चन्दा दिन सक्दिन” भनेर भने र दिएन पनि । त्यो चिठी ल्याउने भाईलाई पनि “तिम्रो कमाण्डर लाई त्यहि कुरा भनि दिनु” भनेर पठाएँ । तर स्कूलका अन्य शिक्षकहरु संग भने चन्दा उठाएर लगे कै हो ।
त्यसको केहि महिना पछि माओबादीको एकजना कमाण्डर भाई आएर “हामी तपाईंको बारेमा बिस्तृत अनुसन्धान गर्दैछौं” भनेर भने ।
मैले पनि हुन्छ नि भनि दिएँ र “अनुसन्धानको रिपोर्ट जे आउँछ मलाई पनि भन्नु होला र मलाई कुनै कुरामा दोषी पाउनु भयो भने तत्कालै कारबाही गर्नु होला” भनेर जबाफ दिएँ । माओबादीहरुले अनुसन्धान गरेर के पत्ता लगाए भन्ने कुरा मलाई भनेनन् । सायद मेरो बिरुद्धमा केहि प्रमाण पाएनन् होला । यदि माओबादिहरुले म कुनै स्वदेशी अथवा बिदेशीको एजेन्ट भएको प्रमाण पाएको भए उति बेला पक्कै कारबाही गर्थे होला नि ।
अहिले सम्म पनि मलाई शंका गर्ने नेपालीहरु लाई यहि भन्न चाहन्छु कि यदि कसैले मैले कुनै बिदेशीको एजेन्ट भएर काम गरेको पाउनु भयो भने मलाई दण्ड सजाय गर्नु होला ।
माओबादी जनयुद्ध सकिएको केहि बर्ष पछि त्यति बेला गाउँमा भेट भएको एक जना कमाण्डर संग पोखरामा भेट भयो । उनले भनेको कुरा यस प्रकार छ – “हामी भन्दा पनि तपाईं पक्का कम्युनिष्ट हुनु हुँदो रहेछ । हामी त शहरमा आएर सरकार सम्म नै पुग्यौं तर तपाईं अहिले सम्म पनि गाउँमा नै मरिमेटेर काम गरि रहनु भएको छ” । ति भाईको नाम मलाई थाहा छैन किन भने उति बेला माओबादीहरुको गोप्य नाम हुन्थ्यो ।
अन्तमा, म एउटा मानवताबादी मनुष्य हुँ । अब यस धर्तीमा ३० बर्ष जति बाँचिन्छ होला । मेरो नजरमा सम्पूर्ण मानव जगत बराबर छन् । अहिले सम्म मैले कसै संग रीस राग, झैझगडा गरेको छैन र बाँचुन्जेल गर्ने पनि छैन । अनि कसैको जरो खन्ने मेरो बानी छैन । म केटाकेटी, बुढाबुढी, जवान, साधु सन्त, सज्जन, चोर फटाहा, लुच्चा, डाँका, धनी, गरिब, किसान, मजदुर, ब्यापारी, कर्मचारी, स्वदेशी, बिदेशी सबै संग मिलेर सामाजिक काम, सामुदायिक काम र देश बिकासको काम गर्न सक्छु ।
कोहि व्यक्ति यदि म संग आएर काम गर्न चाहन्छ भने मैले उसको पृष्ठभूमि हेर्दिन बरु उसले समाजलाई फाइदा हुने के काम गर्न खोजेको हो र त्यो काम गर्न उ कत्तिको लगनशील र गम्भीर छ भन्ने कुरा हेर्छु । त्यसैले म यो संसारमा जो सुकै संग पनि काम गर्न सक्छु । म संग काम गर्न ईच्छुकहरु आउनुहोस, संगै मिलेर काम गरौँ । संसारमा कोहि पनि अजम्मरी छैन । आखिरमा मरेरै जानु पर्छ भने किन झगडा गर्ने ? शान्त हुन प्रयास गरौँ र सिकौं पनि । गौतम बुद्धले भन्नु भएको र गर्नु भएको यहि थियो । लौ त, धन्यबाद ।
क्रमश...