काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री बन्ने सपना सपनामै सिमित भएको छ । शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओलीको आत्मालोचना र स्थायी कमीटि बैठक बोलाउने निर्णयसँगै सकिएपछि बामदेवको प्रधानमन्त्री बन्ने सपना सपनामै सिमित भएको हो ।
बैठकले बामदेव गौतमलाई संसदमा ल्याउने निर्णय गरेको छ । तर संसदमा ल्याउन उपयुक्त समयमा प्रतिनिधिसभाको सदस्य बनाइने भनिएको छ । जुन बामदेवका लागि ‘आकाशको फल आँखा तरी मर’ सरह हो । यसअघि बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालयको निर्णय कार्यान्वयन नगरेका ओलीले उनलाई अचानक प्रधानमन्त्रीको ‘ललिपप’ देखाएका थिए ।
ललिपपमै रमाएका बामदेवलाई आफ्नो गुटमा मिसाएर सचिवालयमा बहुमत जुटाउनुका साथै आफु अनुकुल निर्णय गर्न सफल भएपछि प्रधानमन्त्री ओलीले बामदेवको सपनामा फेरि ‘चिसो पानी खन्याएका’ छन ।
अहिलेसम्म सांसद हुन नसकेका बामदेवलाई प्रधानमन्त्री बन्न असम्भव नै थियो । तर झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका ओलीले आफुलाई निकै अफ्ठ्यारो परेकाले बामदेवलाई कुर्सी छाड्न तयार रहेको अघिल्लो सचिवालय बैठकमा बताइदिए ।
ओलीको बोलीपछि ‘फुरुंग’ बनेका बामदेव शनिबारको सचिवालय बैठकबाट फेरि भित्तामा पुगेका छन । उनलाई प्रचण्डकै शब्दमा ‘भकुण्डो’ बनाएर खेल्ने ओलीको योजना सफल भएको छ भने माधव नेपाल र बामदेवलाई फेरि असफलता हात लागेको छ ।
शनिबारको सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको थियो । छलफलमा प्रचण्डले आत्मालोचना गरेर स्थायी कमीटि बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए ।
अहिले प्रधानमन्त्री फेर्ने बेला नभएको र फेरिहालेमा जनताबाट फेरि आलोचना हुने भन्दै प्रचण्डले नै राजनीतिक संकट समाधानको बाटोमा अघि बढ्न ओलीलाई सुझाएका थिए । सोहीअनुसार ओलीले बैठकमा आत्मालोचना गरे भने चार दिनपछि नै स्थायी समिति बैठक बोलाउने प्रस्ताव गरे ।
जुन सबै नेताको प्रतिक्षाको विषय थियो भने प्रस्ताव राख्नेवित्तिकै पारित हुने अवस्था सिर्जना भइसकेको थियो । प्रचण्डसँग फेरि सत्ता गठजोडमा लागेका ओली सचिवालय बैठकमा बामदेव कार्ड देखाएर खेल जित्न सफल भए । तर बामदेवको प्रधानमन्त्री बन्ने सपना भने तीन दिनमै तुहियो ।
माधव नेपाललाई धक्का !
गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । जुन अनौठो प्रस्ताव सुनेर नेताहरु यसमाथि थप गम्भिर छलफल गर्नुपर्ने भन्दै बैठकबाट बाहिरिए । तर त्यो ओलीको ‘कार्ड’ मात्रै थियो ।
न त उनले माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने सुरसार देखाए । न त सपना पालेर बसेका बामदेवलाई प्रधानमन्त्री बनाउन नै चाहे । उनले सिर्फ गहिरो राजनीतिक संकटलाई ‘सेफल्याण्ड’ गर्न आलोचनामा उत्रिएका नेताहरुको ध्यान अन्यत्रै मोडिदिए । जसका लागि माधव नेपाल र बामदेवलाई पदको लोभ मात्रे देखाए ।
शनिबारको सचिवालय बैठकमा शुरुमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरे । त्यसपछि स्थायी कमीटि बैठक बोलाउने प्रस्ताव गरे । अनि त्यसपछि मात्रै बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउने भनेर हलुका प्रस्ताव गरे ।
सचिवालयमा बहुमत पुर्याएका ओलीले प्रस्ताव राख्नेवित्तिकै प्रचण्डले मुसुक्क हासेर पारित भएको संकेत गरे । दुई अध्यक्षले “ओके” गरेपछि बाँकी नेताहरु चुपचाप । तीन वटा विषयको छलफल सकियो । माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने कुरा बैठकमा उठ्दै उठेन । यसअघि उनलाई तेस्रो अध्यक्ष बनाउने भनेका ओलीले आत्मालोचना गरेपछि यो कुरा त्यसै सेलायो ।
ओलीको कार्यशैलीबाट निकै असन्तुष्ट बनेका माधव नेपाल र बामदेवलाई ओलीले एकै आत्मालोचना शब्दबाट कन्भिन्स गर्न सफल भए । अनि उनीहरु दुबैको पदीय सपनालाई ‘थाङनामा सुताउन’ पनि भ्याए ।
ओलीको चतुर राजनीति र कुटनीतिक खेलबाट फेरि माधव नेपाल र बामदेव गौतम जिल्ल परेका छन । यसअघि गौतम र नेपाल ओलीलाई घुडा टेकाउन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीको भागबण्डा गर्न बार्गेनिंगमा उत्रिसकेका थिए । जुन हल्लामै सिमित भयो ।
फेरि ओली-प्रचण्ड गठबन्धन
बामदेव गौतमको प्रधानमन्त्री सपना र माधव नेपालको तेस्रो अध्यक्ष योजना तुहाएसँगै केपी शर्मा ओलीले फेरि अर्का अध्यक्ष प्रचण्डसँग गठबन्धन गरेका छन । शनिबार सचिवालय बैठकअघि प्रचण्डसँग झण्डै एक घण्टा छुट्टै छलफल गरेका ओलीले आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न दिएको सहमति नतोड्न आग्रह गरे ।
प्रचण्डले घात नगर्ने बताएपछि ओलीले उनका लागि आफूसँगै टेबल र कुर्सी तयार पार्न लगाए । यसअघि पार्टीमा आन्तरिक असन्तुष्टि बढेपछि ओली एक्लैले बैठकको अध्यक्षता गर्ने गरेका थिए । यसपटक दुबै अध्यक्षले बैठकको अध्यक्षता गरे ।
शनिबारको बैठकमा देखिएको दृश्यले प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि अघोषित सहकार्य बनेको छ । यसले सबैभन्दा बढी असन्तुष्ट रहेका माधव नेपाल र बामदेव गौतमलाई भने चिढयाएको छ । नेपाल र गौतमले प्रचण्डसँग मिलेर ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट च्युत गर्न खोजेका थिए ।
शनिबार बामदेव गौतमको विश्वास जितेको केही समयमै ओलीले पछि प्रचण्डको विश्वास पनि जिते । यसका लागि शीतलनिवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यस्तकर्ताको भूमिका खेलेको आशंका गरिएको छ । बामदेव र प्रचण्डलाई मनाउन भण्डारीले प्रत्यक्ष रुपमा बामदेव र प्रचण्डसँग कुराकानी गरेको पनि अनुमान छ ।
शनिबार पनि सचिवालय बैठकअघि ओली शीतलनिवास पुगेर भण्डारीसँग भेटवार्ता गरेका थिए ।