काठमाडौं : आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति हितैषीसँग हाम्रो सम्बन्ध बिग्रन सक्छ । तब हाम्रो गोपनियता उनलाई थाहा हुन्छ । हाम्रो घरायसी अवस्था, स्वास्थ्यस्थिती, कमजोरी, पृष्टभूमी सबै थाहा हुन्छ, जुन आफैमा खतरनाक हुनसक्छ ।
हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ । त्यती मात्र होइन, परिवारका सदस्यहरुको अवस्था, हैसियत काम, आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ । यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ ।
तर धर्मशास्त्र अनुसार कतिपय कुरा यस्ता हुन्छन् जुन कुरा तपाईंले झुक्किएर पनि अरु सँग सेयर गर्न हुँदैन । के हुन् त ति गोप्य राख्नुपर्ने कुराहरु :
घर परिवारको झगडा : तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।
यौन सम्बन्ध : तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।
दान : धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।
मन्त्र : यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।
अपमान : तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।