सिमकोट : नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले हुम्ला पुगेको सीमा अध्ययन गर्न सरकारी टोलीलाई तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन् । स्थलगत रुपमा हुम्ला पुगेको टोलीका सदस्यसँग पूर्व मन्त्री समेत रहेका शाहीले उक्त कुरा बताएका हुन् ।
सीमाको स्थलगत अनुगमन गर्न जानु अगाडी टोलीको हुम्लाबासीसँग सल्लाह लिनका लागि आयोजना गरेको कार्यक्रममा नेता शाहीले टोलीलाई स्थलगत रुपमा देखेको कुरा मात्र बाहिर ल्याए सबै कुरा छर्लङ्ग हुने बताए ।
आफ्नो सुझाव दिने क्रममा नेता शाहीले सीमा सम्बन्धमा न लिनु न दिनु जे छ त्यो बारेमा बोल्नु आवश्यक रहेको बताएका थिए । पहिले एक पछि अर्को बोल्ने बानी आफ्नो नभएको बताउँदै उनले आफ्नो पूर्व धारणमा एक कदम पछि नहटेको बताएका छन् ।
टोलीले सत्य कुरा बाहिर ल्याउनेमा आफु विश्वस्त रहेको बताउँदै उनले समितिलाई सबैले सहयोग गर्नुपर्ने बताए । गत असोजमा उनी आफैले सीमास्तम्भ नम्बर ५ देखि १२ नम्बरसम्म स्थलगत अनुगमनमा गएका थिए ।
उनले लोलुङजोङमा पहिले नेपालले सडक निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी रुपमा पूनःनिर्माण गरेकोमा विमति जनाउँदै आएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शाहीले गत वर्ष आफुले स्थलगत रुपमा अध्ययनपछि तयार गरेको प्रतिवेदनबारे पनि टोलीलाई जानकारी गराएका थिए ।
सरकारले गठन गरेको चीनसँगको हिल्सा नाकाका सीमास्तम्भहरुको सीमा अध्ययन समितिलाई सत्य तथ्य कुरा बाहिर ल्याउन सुझाव संकलन कार्यक्रममा राय दिएका थिए ।
सीमास्तम्भहरुको अध्ययन गर्न हुम्ला पुगेको टोलीसँग हुम्लावासीले सो सुझाव दिएका हुन । सीमा अध्ययन समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा टोलीलाई यथार्थ् कुरा बाहिर ल्याउन हुम्लावासीले एक स्वरमा आग्रह गरेका छन् ।
जिल्लाका सरोकारवाला पक्षहरुले सो सुझाव सीमा अध्ययन समितिलाई दिएका हुन् । छलफल कार्यक्रममा संयोजक आचार्यले स्थलगत अध्ययनका क्रममा देखिएका कुरालाई यथार्थ पक्षलाई समेटेर सरकारलाई प्रतिवेदन पेश गर्ने प्रतिवद्धता जनाए । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पूनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनीति दलहरु, नागरिक समाज, सीमा अध्ययन टोली लगाएको सहभागिता रहेको थियो ।