सिमकोट : सात वटै गाउँपालिका स्कुल सञ्चालन आएपनि मास्कका भरमा मात्रै पठन पाठन सुरु गरिएको छ । विद्यार्थी र शिक्षकको चेकजाँचको त परैको कुरा सेनिटाइजरको समेत विद्यालयमा व्यवस्था नगरेर पठनपाठन सुरु गरिएको हो ।
हुम्लामा कोरोना महामारीले लामो समय बन्द रहेका विद्यालयहरु सञ्चालनमा आएका छन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने गरेको र सो निर्णयलाई कार्यान्वयन गर्दै विद्यालय सुचारु भएका हुन् ।
मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले मास्कको भरमा मात्र विद्यालय सञ्चालन गरिरहेको गुनासो सुनाए । सरोकारवाला पक्षले स्वास्थ्य सुरक्षाका अन्य मापदण्डका बारेमा कुनै चासो नदिएको उनको भनाइ छ ।
पहिलो दिन पचास प्रतिशत विद्यार्थीको उपस्थितीमा कक्षा सञ्चालन गरेको उनले बताए । ‘केही विद्यार्थीले मास्क स आफै लगाएर आएको र नलगाएका विद्यार्थीलाई विद्यालयले व्यवस्था गरेर पठनपाठन सुरु गरेका हौं’ उनले भने ।
सिमको गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । भने पाँच वटा नीजि गरेर २८ वटा विद्यालय छन् । अहिले सबै विद्यालयहरु सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ ।
कैलाश माविमा प्रधानाध्यापक मेज बुढाले पठनपाठन सुरु भएपनि स्वास्थ्यका मापदण्ड पुरा गर्न नसकेको बताए । विद्यार्थीलाई मास्क वितरण र केही सेनिटाइजर राखेपनि विद्यालयले सधैंका लागि उक्त स्वास्थ्य सामग्री राख्न नसकेको बताए ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले १७ वटै विद्यालयमा पठनपाठन सुरु भएको बताए । उनले लामो समयपछि पठन पाठन सुरु हुँदा विद्यार्थीहरु खुसीका साथ विद्यालयमा उपस्थिती रहेको जानकारी दिए ।
यस्तै चंखेली गाउँपालिका भित्रका विद्यालयहरुमा पनि पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा २५ वटा विद्यालय रहेका छन् । यस्तै उत्तरी नाम्खाका १७ वटा विद्यालयमा भदौ २० गतेबाट विद्यालय सञ्चालनमा आएका थिए । सो गाउँपालिकाका कुल विद्यालय मध्ये लिमीका दुई वटा विद्यालयहरुमा भने यसअघि पनि पढाइ जारी नै थियो ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले २१ वटा विद्यालय सञ्चालनमा आएको जानकारी गराए । यस्तै ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पनि साउन १५ गतेबाट पढाइ सुरु भएको जानकारी गराइएको छ ।
सर्केगार्ड गाउँपालिकाले सबै विद्यालय सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमण न्यून हुँदै गएको देखिएपछि गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेर विद्यालय खोल्ने निष्कर्षमा पुगेको जानकारी गराएको छ । यसका लागि विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पुर्ण रुपमा अपनाउन सकेका छैनन ।
यसअघि लामो समय बन्द रहेका जिल्ला भरका सामुदायिक विद्यालयमा निकै सावधानी अपनाएर पढाउन सुरु गर्ने डीसीसीएमसीले निर्णय गरेको थियो । सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको थियो ।
हुम्लामा पठन पाठन गर्ने उपयुक्त समय हो । हुम्ला जिल्लाका सबै विद्यालयमा १७ हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । पठनपाठन सुरु भएपनि शिक्षक र विद्यार्थीहरुले मास्क प्रयोग गर्न बाहेक अन्य स्वास्थ्यका मापदण्ड भने पालना भएको छैन ।