मुगु : जिल्ला कारागार मुगुको भवन प्रयोगविहीन भएको छ । यसले गर्दा मुगुका थुनुवा कैदीलाई छिमकी जिल्ला जुम्ला पठाउनुपर्ने बाध्यता आएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि शहरी विकास कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण गरेको छैन । यसले गर्दा मुगुका कैदीलाई जुम्ला स्थान्तरण गरिएको हो । कारागारका लागि बनेका भवनहरु प्रयोगविहीन बन्दै गएका छन् ।
कारागार कार्यालय मुगुका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन, २०७० मंसिर ०१ गते भवन निर्माण गर्ने सम्झौता भएको थियो । २०७२ मंसिर ३० गतेबाट कार्य गर्न सम्पन्न गर्ने सम्झौता अनुसार काम सम्पन्न भइ भवन कार्यालयलाई बुझाई सकेका छन् ।
सो भवन कार्यालयले जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा मुगुका विभिन्न घटनामा संलग्न रहेका व्यक्तिहरुलाई जेल चलानको लागि जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गरिएको कारागार मुगुले जनाएको छ ।
आशिष कन्ट्रक्सन गाँडेखोला डडेल्धुरा ३ कम्पनिले सो भवन निर्माणको लागि ३ करोड ५० लाख , ३६ हजार ६ सय २८ रकमको ठेक्का लिएर सम्झौता अनुसार काम गरी शहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकेको कम्पनीका मुगु प्रतिनिधि कर्णबहादुर रावलले बताए ।
भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा कार्यालय एक ठाउँबाट अर्को ठाउँसम्म सार्न नसकिएको कारागार कार्यालय मुगुका कार्यालय प्रमुख दत्त लामाले बताए । लामाका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीहरुलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्बार ताकेता गर्दा पनि कुनै प्रकारको सुनुवाई नभएको कार्यालय प्रमुख लामाले बताए ।
कारागार कार्यालय मुगुले दिएको जानकारी अनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजार देखि १ लाखसम्म रकम पर्ने पर्ने गरेको छ । मुगुबाट कैदीलाई जुम्लासम्म खाना, बस्न, नास्ता पानी , सुरक्षाकर्मीहरु लगायत अन्य आवश्यकता पर्ने हुनाले सो रकम खर्च लाग्ने कार्यालय प्रमुख दत्त लामाको भनाइ छ । ‘निर्माण सम्पन्न भएको भवनलाई कारागार कार्यालय मुगुलाई हस्तान्तरण गरिदिएको भए भए राज्यको यति ठुलो रकम खर्च हुने थिएन’ उनले भने ।
८ वर्षमा ९९ कैदी
आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार मुगुको तथ्यांक अनुसार विभिन्न प्रकृतिका कैदी बन्दीहरुलाई कारगार कार्यालय मुगुमा कैदी गृह नहुँदा ७ जना महिला र ९२ जना पुरुष गरी जम्मा ९९ जनालाई जुम्ला लगायत अन्य जिल्लाका कारागारहरुमा चलानी स्थानान्तरण गरिएको छ ।
शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार शाखा कार्यालय मुगुको लागि महिला बन्दीगृह, सुरक्षा भवन , र कार्यालय प्रयोजनको लागि भवन निर्माण भइसकेको छ । अन्य कार्यालय घेरबार सुरक्षा चेक पोष्टको लागि बजेट अभाव तथा निर्माण नभएको र बनिसेको भवन पनि कार्यालयलाई हस्तानतरण नभएको हुँदा प्रयागविहीन भएका हुन् ।
कैदी बन्दी गृह जिल्लामै सञ्चालनमा आइदिएको भए आफन्तहरुलाई सहजै रुपमा भेटघाट गर्न सकिने र खर्च पनि कम हुने भएको हुँदा सम्बन्धित सरोकारवाला निकायहरुले छिटो छिटो जिल्लामै सञ्चालन गर्न नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्ले बताए ।