जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा भएको घटनामा अर्का युवाको शब भेटिएको छ । गएराती भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये अर्का युवकको शब भेटिएको प्रहरीले जनाएको छ । सोतीमा गैरदलित युवतीसँगको प्रेमलाई विवाहमा परिणत गर्न गएका नवराज विकको स्थानीयको कुटाईबाट हत्या भएको थियो । अरु ६ जना बेपत्ता थिए ।
आइतबार दिउँसो बेपत्तामध्ये एक जनाको शब घटनास्थलबाट २५ किलोमिटर तल फेरा खोला नजिक भेरी नदीको किनारामा फेला परेको प्रहरीले जनाएको छ । यद्यपी उनको नाम खुलेको छैन ।
जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विक गएराती प्रेमिकालाई भगाउन रुकुम पश्चिम पुगेका थिए । चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ बर्षीया शुष्मा मल्ललाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेका थिए ।
नवराजका अरु साथीहरु भने बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको शब भेटिएपछि युवतीका आफन्तले अरु युवाहरुको पनि हत्या गरेको आशंका बढेको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ का टीकाराम सुनार वेपत्ता छन् ।
तीमध्ये एक जनाको शब भेटिएपनि कसको भेटिएको हो भन्ने पहिचान खुल्न बाँकी रहेको जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए ।
घटनापछि युवतीका आफन्तले नवराजको भेरी नदीमा खसेर मृत्यु भएको बताएका छन भने युवकका आफन्तले उनको हत्या भएको बताएका छन । घटनाको विरोध गर्दै दलित संघ संस्थाले युवकका हत्यारा र जातीय विभेद गर्नेलाई कडा कारबाहीको माग गरेका छन ।