१४ जेठ, बाँके : उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ ।
‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन । ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेको अस्पतालको दाबी छ ।
अस्पतालको जानकारी अनुसार उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरिएको छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेकोका हुन । चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालको वातावरण त्रसित छ ।
‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।’
चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।