काठमाडौँ : जेठ १० गते रुकुम पश्चिमको सोतीमा जातीय नरसंहार हुँदा जाजरकोटको खलंगा लगायत आसपास अशान्त बन्यो । जेठ १० गते बेलूकी ६ बजेतिर बुवा मुनलाल र आमा उर्मिलाले भेरी नदी किनारमा नवराजको लास देख्नेबित्तिकै जाजरकोटमा आन्दोलनको आगो सल्किसकेको थियो ।
यो मृत्यु थिएन । हत्या थियो । त्यो एक जनाको थिएन । नवराजसहित ६ जना युवाहरुलाई विभत्स हत्या गरिएको थियो । जुन अरु कारण थिएन । जातीय विभेदको चरम अपराध थियो । जसको जति निन्दा गरेपनि कम हुन्छ । मानिस सबैलाई बाच्न पाउने हक छ ।
तर सोतीका मानिसहरुको अपराधले गर्दा जाजरकोटमा दलित र गैरदलित सबै विभेदविरुद्ध एकसाथ आवाज र आन्दोलन उठाउन तयार भए । त्यो राती बेपत्ता रहेका पाँच जना युवाको खोजी चल्यो ।
तर उनीहरुलाई मारेर बेपत्ता पारिएको भित्री सत्य बाहिरिदै गएपछि खलंंगामा आन्दोलनको आगो दन्काउने योजना बन्न थाल्यो । जसको नेतृत्व नागरिक समाज र राजनीतिक दलका नेताहरुले गरे । सोती जातीय नरसंहार हुँदा तत्कालिन नेकपा भन्ने पार्टी सत्तामा थियो । जुन सत्ताका लागि माओवादी र एमालेको अधुरो मिलन थियो ।
सोती जातीय नरसंहारमा माओवादी नेताहरुको प्रत्यक्ष सलंग्नता रहेका थाहा भएपछि जिल्लामा माओवादी भूमिगत बन्यो । तर दलित नेताहरुले भने विद्रोहको आवाज उठाए । तत्कालिन सत्तारुढ भएकाले एमाले पनि त्यति विष्फोट हुन सकेन । तर भित्री र बाहिरी रुपमा उनीहरु न्यायको पक्षमा उभिए । आन्दोलनमा समर्थन जनाए । आन्दालन गर्नेलाई ढाडस दिए । साथ दिए । समर्थन दिए । जसकारण जातीय विभेद र नरसंहारविरुद्धको आवाज चर्को बन्दै गयो । घटनाको छानबिन र मृत्तकको शव खोज्न भने हप्तौ लाग्यो ।
जाजरकोटमा आन्दोलनका नायकहरु धेरै जना छन् । हरेक जाजरकोटी आफ्ना युवाको हत्याको विरोधमा न्यायका लागि धेरै दिन आन्दोलित बनिरहे । अहिले पनि बनिरहेकै छन् । जाजरकोटभन्दा बढी आन्दोलनको आगो बल्यो र, काठमाडौँ बल्यो । जातीय विभेदको कलंकित सोच उखेल्ने काठमाडौँ फेरि एकपटक जागेको हो । तर त्यसले निरन्तर ठूलो शक्ति पाएन । जुटाउन सकेन । र शक्ति खर्चिनै सकेन ।
यसमा विविध कारण छन् । तर अहिले हामी रुकुम हत्याकाण्डमा मारिएका नवराजसहित ६ जना युवाहरुको न्यायका लागि जाजरकोटबाट आन्दोलन उठाउने केही अभियान्ता, नेता तथा सरोकारवालाहरुको चर्चा गर्दैछौँ ।
पार्वती विक र खगेन्द सुनार लगायतका अधिकारकर्मीहरुको नेतृत्वमा सोती हत्याकाण्डको भोलिपल्ट खलंगामा नारा जुलुस सुरु भयो । जिल्ला प्रहरी कार्यालय जाजरकोट बाहिर मान्छेहरु जम्मा हुँदै प्रहरीविरुद्ध नाराबाजी भयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटको गेट अगाडिसम्म पुग्यो । जसले आन्दोलनको रुप लियो । त्यो संख्या थपिदै गयो । आन्दोलन बढ्दै गयो । नारा चर्किदै गयो । हत्यारा सार्वजनिक गर । बेपत्ताको खोजी गर । घाइतेको निःशुल्क उपचार गर। हत्यारालाई फाँसी दे भन्दै नाराबाजी चुलियो ।
उक्त आन्दोलन अधिकारकर्मी तथा राजनितिज्ञ नगेन्द्र शाहले संंयोजन गरे । जसलाई सोती हत्याकाण्ड संघर्ष समिति भनियो । भोलिपल्ट पत्रकार खगेन्द्र सुनार जाजरकोट पुगे । उनी पनि आन्दोलनमा मिसिए । निकै खरो स्वभावका उनी तत्कालै आन्दोलनलाई अगाडि बढाउन तयार भए ।
पत्रकार सुनार प्रशासन कार्यालयमा अगाडि धर्ना बसे । उनले सारा दलित समूदायलाई विरोधमा उतारे । आन्दोलनको नेतृत्व गर्न लागे । दलित तथा गैरदलित युवाहरुको हत्या गर्ने र सलंग्न हुनेको विस्तारै मनबल कमजोर हुँदै गयो । आन्दोलन बढ्दै गयो । पार्वती विक, खगेन्द्र सुनार लगायत युवा अभियन्ता, पत्रकार र सरोकारवालाका कारण जाजरकोटमा निरन्तर आवाज उठ्यो ।
आन्दोलन अगाडि बढ्यो । राजीव शाह, वेदराज सिंह छवि पन्त, नागरिक अगुवाको तर्फबाट राजेन्द्र विक्रम शाह, एमाले र माओवादी सत्तारुढ दल बन्दा नेपाली कांग्रेस त्यतिबेला प्रतिपक्षमा थियो । नागरिकलाई समस्या र अन्याय परेको बेला आवाज उठाउनु प्रतिपक्षको धर्म हो ।
तर यो घटना घटेदेखि न्यायिक प्रक्रियासम्म जाजरकोटमा माथिल्लो नेतृत्वमा कांग्रेसका नेता राजीव , वेदराज सिंह र छवि पन्त लागे । उनीहरुले आन्दोलनका लागि सबथोक योगदान दिए । न्याय माग्न छाडेनन् । राजीव विक्रम शाहले लागि जिल्लाका सबै नेता कार्यकर्ता परिचालन गरे । उनले पीडितलाई पनि राहत दिनेदेखि आफैँ जिल्ला प्रहरी कार्यालय तथा अदालत पुगेर न्यायिक लडाईका लागि सहयोगी बनेका थिए ।
जसले गर्दा आन्दोलनले ठूलो रुप लिँदै गयो । यसका साथै नेविसंघ जाजरकोटको पनि ठूलो भूमिका यो आन्दोलनमा छ । नेविसंघले आन्दोलन चर्काउँदा खलंगा बजार हल्लाएको थियो । युवाहरुको हत्यामा सलंग्नहरुको बचाउमा पूर्वगृहमन्त्री जनार्दन शर्मा लागेपछि नेविसंघले खलंगामा पुत्ला जलाएको थियो । जसको नेतृत्व छवि पन्त र ललित बस्नेतले गरेका थिए ।
त्यसयता जाजरकोटमा आन्दोलनको भुमरी चल्यो । विस्तारै सबै नेता, दल तथा सरोकारवालाहरुले साझा आन्दोलन थाले । उनीहरुको यसका लागि संयुक्त संघर्ष अभियान समेत चलाए । जसले गर्दा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई दबाब समेत परेको थियो । जाजरकोटबाट उठेको आन्दोलनले देशभरी प्रभाव जमायो ।
ठाउँ ठाउँमा विरोध प्रदर्शन भयो । नाराबाजी भयो । युवाहरुको लागि न्यायको माग गरियो । काठमाडौँमा सडक र सदनमा समेत विरोध भयो । घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरियो । देश विदेशबाट सहयोग जुट्यो । पीडित परिवारलाई थोरै भएपनि सबै साथमा छन् भन्ने महसुस भयो । आन्दोलनका लागि बल मिल्यो । घटना दबाउन लागि परेकाहरुको मनोबल कमजोर हुँदै गयो । प्रहरीको छानबिन अगाडि बढ्यो । ढिलै भएपनि आन्दोलनकै बलमा हत्यामा सलंग्न वडाध्यक्ष डम्बर मल्ल लगायतकालाई प्रहरीले पक्राउ गरेर थुनामा राख्यो । यसले सोती नरसंहारविरुद्ध आन्दोलन उठाउनमा जाजरकोटका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरुको ठूलो भूमिका छ ।
(अन्तरजातीय प्रेमबाट उत्पन्न विवाहको परिस्थितीका बीच घटेको रुकुम सोती जातीय नरसंहारका विषयमा कर्णालीखबरको यो तेस्रो सामग्री हो । यसबारे हामी थप श्रृंखलाबद्ध सामग्रीहरु प्रस्तुत गर्नेछौँ )
र, योपनि पढ्नुहोस...
नवराजहरुको हत्यामा 'जनयुद्ध'को गिद्धे नजर
सरकारले पीडितलाई पैँसा दियो, पीडकलाई उन्मुक्ति