काठमाडौँ : रुकुम सोती जातीय नरसंहार भएको तीन दिनपछि काठमाडौँमा वनमन्त्रीको कुर्सीमा बसेका शक्ति बस्नेतले घटनाबारे थाहा पाए । उनले छोटो स्टाट्स लेखे । सोतीमा भएको घटनाप्रति दुःखी छु । उनले यो बाहेक अरु भन्न सकेनन् ।
जेठ १० गते राती रुकुम सोतीमा युवाहरुको हत्या भयो । १२ गते तीन जना युवाको शव भेटियो । त्यसको भोलिपल्ट मात्रै शक्ति बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका हुन् । त्यो जाजरकोटी युवाहरुको हत्याको विरोधमा थिएन ।
रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माभन्दा आफू पछि पर्छु कि भन्ने चिन्ता थियो । त्यही दिन केही समयअघि मात्रै जनार्दन शर्माले त्यसबारेको स्टाट्स हालेका थिए । त्यो प्रतिष्पर्धामा शक्ति बस्नेत उत्रिए ।
जबकी सोतीमा गैरदलित युवतीसँग प्रेम गर्दा नवराज विकसहित चार जना दलित युवा र दुई जना गैरदलित युवा मारिएका थिए । मारिएका युवाहरु शक्ति बस्नेतका मतदाता हुन् । उनी त्यो क्षेत्रका प्रतिनिधि सभा सांसद हुन् ।
रुकुममा आफ्नो क्षेत्रमा घटना घटेपछि जनार्दन शर्माले संसदमा हंगामा मच्चाए । जो अपराधिक पृष्ठभूमिका गाउँलेको बचाउमा उनी संसदमै बोले । उनले आफ्ना मतदाताप्रतिको माया र संरक्षण देखाए । भलै सोती जातीय नरसंहारमा उनी अपराधी बचाउन लागेको आरोेपबाट गुज्रिएका छन् ।
जनार्दनले संसदमै बोलेपछि उनको आलोचना भयो । उनको क्रान्ति नक्कली थियो भन्ने पुष्टि भयो । दलितका नाममा उनी राजनीति होइन, दलितलाई मार्दा खुशी हुने र अपराधीकै संरक्षणमा जनार्दन लागेको आरोप लाग्यो ।
तर पनि जनार्दन बोले । अपराधी नै भएपनि आफ्ना मतदाता बचाउन लागे । तर आफ्ना मतदाताको विभत्स हत्या हुँदा शक्ति बस्नेत एक शब्द बोलेनन् । न संसदमा बोले । न सामाजिक सञ्जालमा । न कुनै आन्दोलनमा सरिक भए । न कुनै राजनीतिक कार्यक्रममा ।
यतिसम्मकी सरकारले उच्चस्तरीय छानबिन समिति र सभामुख अग्नि सापकोटाले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरे । दुई वटै समितिले जाजरकोट र रुकुम पुगेर काम गरे । उनीहरुलाई शक्ति बस्नेतले मुख समेत देखाएनन् ।
घटनाले गर्दा रात दिन रोइरहेका पीडितलाई शक्ति बस्नेतले न्याय त परको कुरा, एक फोन समेतत गरेनन् । घटनाका दोषीलाई कारबाही गर्छु भन्ने हिम्मत गर्न सकेनन् । यसले पनि देखिन्छ, जाजरकोटका नवराज लगायतका युवाहरुलाई सोतीका गाउँलेले भन्दा क्रान्तिकारी भनिने माओवादीका नेताहरुले मारेका हुन् ।
यति ठूलो जातीय नरसंहार हुँदा अघिपछि आगो बाल्ने माओवादी यो घटनामा सबै चुपचाप देखिए । जनार्दन शर्मा पीडक बचाउन लागे । शक्ति बस्नेतले मुखमा टेप लगाए । प्रचण्डले पनि घटनाबारे एउटा विज्ञप्ति निकाल्न सकेनन् ।
गृहमन्त्री रामबहादुर थापा अहिले एमाले भइसके । जाजरकोटका जनता यसैकारण पनि शक्ति बस्नेतबाट क्रुद्ध छन् । खासगरी गैरदलितका लागि सबथोक गर्ने शक्ति बस्नेत दलित युवा मर्दा एक शब्द बोल्न सकेनन् । नत सडकमा नत सदनमा ।
केही समयअघि जाजरकोटको एक बसपार्कमा एक युवाको हत्या भएको थियो । झडपमा परी उनको मृत्यु हुँदा, शक्ति बस्नेतले फेसबुकमा लेखेका थिए, जाजरकोटले एक जना होनहार युवा गुमाएको छ । हत्या भएको छ । उनका हत्यारालाई कारबाही गरिनेछ ।
माओवादीले जनयुद्धका क्रममा अपराधिक मानिसहरुमाथि भौतिक कारबाही गथ्र्यो । यतिसम्म की उनीहरुको हत्या नै गरिदिन्थ्यो । तर रुकुममा यति ठूलो नरसंहार हुँदा पनि माओवादी नेता बोल्दैनन् । पीडितलाई न्याय दिँदैनन् ।
पीडकलाई कारबाही गर्न सक्दैनन् । घटना घटेको एक वर्षसम्म पनि अपराधी थुनामा छन् । तर मुद्दाको फैसला हुन सकेको छैन । यसबीचमा शक्ति बस्नेत धेरैपटक जाजरकोट पुगे । पीडितलाई राहत दिए । तर पनि नवराज लगायत युवाहरुको परिवारलाई भेटेनन् । भेट्न गए त दुई मिनेटमात्र भेटे, समय छैनन् भन्दै पीडितको घरबाट फर्किए ।
यति क्रुर हत्यामा पनि नबोल्ने, महिनौ आन्दोलनमा उत्रिएको जाजरकोटी जनताको पक्षमा नबोल्ने शक्ति बस्नेत नेता होइनन्, जाजरकोटी युवा र दलितको लासमाथि हेलिकप्टरमा उड्ने नेता हुन, या गिद्ध हुन् । जसले जनयुद्धमा युवा र दलितकै रगत पिएर राजनीति सुरु गरेका थिए ।
तर आज पूर्वगृहमन्त्री र एक माओवादीका प्रभावशाली कमाण्डर होइनन्, गिद्धजस्ता अवसरवादी सिनो ढुकेर बस्ने नेता साबित भएका छन् । जसलाई ढिलो चाँडो जाजरकोटी जनताका आँशुले पोल्नेछ ।
र, योपनि पढ्नुहोस
नवराजहरुको हत्यामा 'जनयुद्ध'को गिद्धे नजर
सरकारले पीडितलाई पैँसा दियो, पीडकलाई उन्मुक्ति
नवराजहरुको न्यायको लागि आन्दोलन उठाउनेहरु